सन्दीप लामिछाने निर्दोष ठहर
Wednesday, May 15th, 2024, 5:22 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २ जेठ
क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाई पाएका छन् । उच्च अदालत पाटनले क्रिकेटर लामिछानेलाई बलात्कारको मुद्दामा सफाई दिने फैसला गरेको हो । न्यायाधीद्धय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको संयुक्त ईजलासले लामिछानेलाई सफाई दिने फैसला गरेको हो ।
बुधबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याएर सन्दीप लामिछानेलाई निर्दोष ठहर गरेको उच्च अदालतका उपरजिष्ट्रार एवं प्रवक्ता विमल पराजुलीले जानकारी दिए । ‘जिल्ला अदालतको फैसला उल्टिएको छ, सन्दीप लामिछानेले सफाइ पाएका छन्,’ उनले भने । गत पुस १३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो ।
पुस २५ गते सोही इजलासले उनलाई ८ वर्ष कैद सजाय, तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको थियो । तर जिल्ला अदालतले लामिछानेलाई सजाय कम दिएको भन्दै उच्च सरकारी वकिल कार्यालयले फागुन २९ गते मंगलबार उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो ।
उक्त पुनरावेदन उच्च अदालतले फागुन ३० दर्ता गरेको थियो । त्यसअघि सन्दीप लामिछानेले पनि जिल्ला अदालतले आफूलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको विपरीत उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए । त्यसपछि उनले थुना बाहिर बसेर पुनरावेदन गर्ने सुविधा पाएका थिए ।