एमाले बाँके अध्यक्षको लागि डिल्ली र निरक बिच प्रतिस्पर्धा
Sunday, May 19th, 2024, 7:40 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, जेठ ६ गते
नेकपा एमाले बाँकेको अध्यक्ष पदका लागि निरक गुरुङ र डिल्ली बिसी बिच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन मण्ललका अनुसार आइतबार बेलुका ६ बजे देखि निर्वाचन सुरु हुने तय भएको थियो ।
वर्तमान अध्यक्ष किस्मत कुमार कक्षपतिले उम्मेदवारी फिर्ता लिएपछि दुई जना बिच प्रतिस्पर्धा हुन लागेको हो । बाँके एमालेको नयाँ नेतृत्व छनौटका लागि ४ सय ६८ जना प्रतिनिधिले मतदान गर्दैछन् ।
निर्वाचन समयमै सुरु भए सोमबार निर्वाचनको मतपरिणाम सार्वजनिक हुनेछ । यसैगरी निर्वाचनमा उपाध्यक्ष पदको लागि लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्री र रबिन्द्र लम्सालबिच प्रतिस्पर्धा हुने भएको छ । उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएका इन्द्रबहादुर थापा र सुमन कुमार मल्लले उम्मेदवारी फिर्ता लिनु भएको छ ।
सचिव पदका लागि खिलप्रसाद भुसाल, दत्तप्रसाद आचार्य, बलराम भट्टराई, भीम ओलीबिच प्रतिस्पर्धा हुने भएको छ । महिला उपमहासचिव पदका लागि निर्मला सुनार, रचना श्रेष्ठ, शारदाकुमारी रेग्मी विश्वकर्माको उम्मेदवारी परेको छ ।
उपमहासचिव खुलातर्फ दीपककुमार बर्मा, किशोर थापा, सोहनलाल यादवले प्रतिस्पर्धा गर्ने तय भएको छ । उक्त पदमा सतिश निरौलाले आफनो उम्मेदवारी फिर्ता लिनु भएको छ ।
जेठ ४ गतेदेखि सुरु भएको एमाले बाँकेको जिल्ला अधिवेशनको उद्घाटन एमालेका महासचिव शङ्कर पोखरेलले गर्नुभएको थियो ।
सर्वसम्मतको प्रयास भएपनि सहमति हुन नसकेपछि निर्वाचन मार्पmत नेतृत्व चयन हुन लागेको निर्वाचन मण्डलका सदस्य एमाले केन्द्रीय सदस्य मो. हारुनले बताउनुभयो ।
एमाले अधिवेशनमा दुई समुहबिच कुटाकुट
नेकपा (एमाले)बाँकेको नवौं जिल्ला अधिवेशनको क्रममा आइतबार दिउँसो दुई युवा समुहबिच कुटाकुट भएको छ । जेठ ४ गते देखि नेकपा एमाले बाँकेको जिल्ला अधिवशन नेपालगन्जमा सुरु भएको थियो ।
आइतबार दिउँसो उम्मेदवारीको विषयलाई लिएर उमेश सिंह ठकुरी र कुलेन्द्र राना समुहबिच विवाद उत्पन्न भएको प्रहरीले जनाएको छ । जारी एमाले जिल्ला अधिवेशन मार्फत नयाँ नेतृत्व छनोट हुँदैंछ ।
जिल्ला कार्यसमितिको सदस्यमा दिइएको उम्मेदवारी फिर्ता लिने विषयमा कुलेन्द्र र उमेश निकटका युवाहरुबिच सामान्य विवाद भएको थियो । सोहि विषयमा मतभेद हुँदा उमेश सिंह ठकुरी समुहले कलेन्द्र रानालाई कुटपिट गरेका थिए । कलेन्द्रको मुख र नाँकमा चोट लागेपछि उनी निर्वाचन स्थलबाट आफनो गाडी चढेर उपचारका लागि बाहिरिएको प्रहरीले जनाएको छ ।
…………..