जित नजिक अध्यक्षमा निरक गुरुङ र उपाध्यक्षमा रत्न खत्री
Monday, May 20th, 2024, 8:51 am
Kalpristha
कमल खत्री
नेपालगन्ज, जेठ ७ गते
नेकपा एमाले बाँकेको अध्यक्ष पदको जारी मतगणनामा निरक गुरुङले जित्ने करिब पक्का भएको छ । निरकले सोमबार बिहान सम्म गरिएको गणनामा १ सय ४५ मत प्राप्त गर्नु भएको छ । उहाँ निकटप्रतिद्धन्द्धी डिल्ली विसीले ९० मत प्राप्त गर्नु भएको छ ।
यसैगरी उपाध्यक्षमा रत्न खत्रीले १ सय ५० मत प्राप्त गर्दा रबिन्द्र लम्सालले ८५ मत पाउनु भएको छ । खत्री लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री हुनु हुन्छ ।
सचिव पदमा बलराम भंटराईले ९२ मत, खिल प्रसाद भुषालले ६७ मत, दत्त प्रसाद आर्चायले ४४ र भिम ओलीले २९ मत पाउनु भएको छ ।
महिला उपमहासचिव तर्फ निर्मला सुनारले १ सय २४ मत सहित अग्रता लिदाँ रचना श्रेष्ठले ९७ र शारदा विश्वकर्माले २६ मत पाउनु भएको निर्वाचन मण्डलले जनाएको छ ।
उपमहासचिव खुलातर्फ भने किशोर थापा अगाडी रहेको निर्वाचन मण्डलले जनाएको छ । एमाले बाँकेको नवौं महाधिवेशन मार्फत सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भएको थियो ।
अध्यक्षमा लगायतका पदमा एक भन्दा धेरै उम्मेदवारी परेपछि निर्वाचन भएको थियो । वर्तमान अध्यक्ष किस्मत कुमार कक्षपतिले आफनो उम्मेदवारी फिर्ता लिएपछि निरक र डिल्ली बिच नेतृत्वका लागि प्रतिस्पर्धा भएको थियो । कक्षपतिले निरकलाई सार्वजनिक रुपमा समर्थन गर्नु भएको थियो । मतगणना भैरहेको हलको माइक प्रयोग गरेर कक्षपतिले आफनो समर्थन निरक लगायतका व्यक्तिलाई रहेको भनेर अभिव्यक्ति दिएपछि केहि बेर विवाद भएको थियो ।
बाँके एमालेको नयाँ नेतृत्व छनौटका लागि ४ सय ६८ जना प्रतिनिधि मध्ये ४ सय ५८ जनाले मतदान गर्नु भएको थियो ।
जेठ ४ गतेदेखि सुरु भएको एमाले बाँकेको जिल्ला अधिवेशनको अन्तिम मतपरिणाम आज सोमबार दिउँसो सम्म आउने निर्वाचन अधिकृत भेषराज बस्नेतले बताउनु भयो ।
……………
एमाले बाँकेको नेतृत्व चयनका लागि दोस्रो पटक निर्वाचन भएको हो । यसअघि सातौं अधिवेशनमा पदम धिताल र अशोक कोइरालाबिच अध्यक्षका लागि प्रतिस्पर्धा भएको थियो । जसमा कोइरालाले जित हासिल गर्नु भएको थियो ।