नयाँ भवन निर्माण गर्दै खजुराको १ नम्बर वडा
Thursday, May 23rd, 2024, 7:53 pm
Kalpristha
सौरभ राना
नेपालगन्ज, १० जेठ
सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले खजुरा गाउँपालिका वडा नम्बर १ ले नयाँ कार्यालय भवन निर्माण कार्य सुरु गरेको छ । बिहिबार नयाँ कार्यालय भवनको भुमी पुजन गर्दै निर्माण कार्य सुरु गरिएको छ । खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिक तुफान, १ नम्बर वडा अध्यक्ष मनवीर क्षेत्री, प्रमुख प्रशासकिय अधिकृत बस बहादुर राना, वडा सदस्य विष्णु सुनार, इन्जिनियर सोनु शाह लगायतको उपस्थितीमा निर्माण कार्यको सुरुआत गरिएको थियो ।
१८ महिनामा निर्माण कार्य सम्पन्न गर्ने सम्झौता सहित खजुरा गाउँपालिका वडा नम्बर २ को कल्पेस्वर सबिना जेभीले कार्यालय भवन निर्माणको ठेक्का पाएको छ ।
पहिलो चरणमा ४० लाख रुपैयाँमा जग र पिलरको काम सम्पन्न हुने सबिना जेभीका प्रमुख लोक बहादुर ददेलले बताउनु भयो । खजुरा गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण हुन लागेको कार्यालय भवन सम्झौता अगावै काम सम्पन्न गर्ने ददेलले प्रतिवद्धता जनाउनु भएको छ ।
राधापुरमा भएको पुरानो भवनमा पानी चुहिने समस्या भएका कारण नयाँ भवन निर्माण गर्नु परेको खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले बताउनु भयो । नयाँ भवनबाट सेवा प्रभावमा सहज हुने उहाँले बताउनु भएको छ ।
राधापुर सैनिक पानीटंयाकी नजिकै बन्न लागेको दुई तले नयाँ भवनको माथिल्लो तलामा करिब ५० जना क्षमता भएको हल सहित निर्माण हुन लागेको छ । भवनको सम्पुर्ण काम सम्पन्न गर्न २ करोड ९४ हजार ९४ रुपैयाँमा सम्झौता भएको वडा अध्यक्ष क्षेत्रीले जानकारी गराउनु भयो ।
पुरानो भवन जिर्ण भएकोले दैनिक काम गराउन आउने सेवाग्राहीलाई समस्या हुने गरेका कारण नयाँ भवन निर्माण गरिएको अध्यक्ष क्षेत्रीले बताउनु भयो । उहाँले भन्नु भयो,‘राधापुरका जनतालाई समस्या नहोस भनेर नयाँ कार्यालय भवन निर्माण कार्य सुरु गरेका छौं । यसले वडावासीलाई सहज रुपमा सेवा प्रदान गर्न सहयोग गर्नेछ ।’