युनियन दिवसमा ५८ पत्रकारको स्वास्थ्य परीक्षण
Sunday, May 26th, 2024, 7:19 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज १३ जेठ
नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसरमा बाँकेमा पत्रकारहरुका लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर गरिएको छ । युनियन बाँकेले स्थापना दिवसको अवसरमा सम्पूर्ण पत्रकारहरुको लागि आइतबार नेपालगञ्जमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर संचालन गरिएको थियो । आइतबर भएको स्वास्थ्य शिविरमा बाँकेका ५८ जना पत्रकारहरुको स्वास्थय परीक्षण गरिएको थियो ।
युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा संचालन भएको शिविरको उद्घाटन शत्रमा बोल्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य एवम् स्वास्थ्य बिभाग प्रमुख अन्जना पाण्डेले सधै जनतालाई सुचना सम्प्रेसरण गर्ने कार्यमा व्यस्थ हुने पत्रकारहरुका लागि शिविर महत्वपुर्ण भएको बताउनु भयो ।
उहाँले भन्नु भयो,‘राज्यको चौथो अंगका रुपमा रहेको पत्रकारिता क्षेत्रमा लाग्ने पत्रकारहरुलाई आफ्ना लागि समय नै हुँदैन । प्रेस युनियनले सधै अरुलाई सुसुचित गर्ने जिम्मेवारी बोक्ने पत्रकारहरुको लागि स्वास्थ्य शिविर आयोजना गर्नु आफैमा एकदमै राम्रो कार्य हो ।’
पत्रकाहरुको कार्यप्रति उच्च सम्मान रहेको बताउँदै उहाँले पत्रकारिताको आचारसंहितालाई ध्यान दिएर काम गर्न तर्फ युनियनले पत्रकारहरुलाई अभिप्रेरित गर्नु पर्ने बताउनु भयो ।
नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका महासचिव नविन गिरीले पत्रकारिता क्षेत्रमा देशकै जेठो संगठनका रुपमा रहेको युनियनले नेपाली पत्रकारिता क्षेत्रमा इतिहास बनाएको बताउनुभयो ।
उहाँले लोकतान्त्रिक आन्दोलन पश्चात उदय भएको युनियनले देशमा लोकन्तन्त्रका लागि पनि ठुलो भूमिका निर्वाह गरेको धारणा राख्नुभयो ।
उद्घाटन शत्रमा नेपाल पत्रकार महासंघ बाँके शाखा उपाध्यक्ष संगिन शर्माले युनियनले आयोजना गरेको स्वास्थ्य शिविर कार्यक्रमका लागि धन्यवाद दिनुभयो । उहाँले युनियन बाँकेले निरन्तर रचनात्मक कार्य गर्दै आएको उल्लेख गर्दै स्थापना दिवसको शुभकामना दिनुका साथै युनियनको कार्यलाई अन्य सिको गर्नुपर्ने बताउनुभयो ।
पत्रकार महासंघका पूर्व अध्यक्षहरुको तर्फबाट अग्रज पत्रकार निरज गौतम, प्रेस सेन्टर लुम्बिनी प्रदेशका उपाध्यक्ष प्रदिप वाग्लेले स्वास्थ्य शिविरले पत्रकारहरुलाई स्वास्थ्यतर्फ सचेत हुनुपर्ने भावना विकास गर्न प्रेरित गरेको बताउनु भएको थियो ।
शिविरमा युनियन लुम्बिनी प्रदेशका उपाध्यक्ष जयसिंह केसी, महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, युनियन लुम्बिनी प्रदेश सदस्य गौरव गिरी, युनियन कर्णाली प्रदेश सचिव रमा केसी, महासंघ लुम्बिनी प्रदेशका सचिव शिव सुनार, महासंघका पूर्व महासचिव पोषण केसी, महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारी, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, युनियन बाँके शाखाका निर्वतमान अध्यक्ष अर्जुन ओली लगायतको सहभागिता रहेको थियो ।
नेपालगञ्ज गणेशमान चोकमा रहेको लक्ष्मी सरस्वती पोलिक्निनिक एण्ड डाइग्नोष्टिक सेन्टरको सहकार्यमा गरिएको स्वासथ्य शिविरमा पश्चिम नेपालका एक मात्र नेफ्रोलोजिष्ट (मृगौला रोग बिशेषज्ञ) डा.शौरभ सिंह हमालले बिशेषज्ञ सेवा प्रदान गर्नुभएको थियो ।
पछिल्लो समय मानिसको मृत्यु हुने सातौ समस्याका रुपमा मृगौला रोगको कारण देखिएको डा. हमालले जानकारी दिनुभयो । युनियन बाँके शाखा उपाध्यक्ष कमल खत्रीले स्वागत गर्नुभएको कार्यक्रमलाई सचिव भिष्म लोधले संचालन गर्नुभएको थियो ।
३३ औं स्थापना दिवसको अवसरमा युनियन बाँकेले शनिबार मैत्रीपूर्ण फुटसल आयोजना गरेको थियो ।

………….

……..