नेपालगन्ज–१० कांग्रेसको वडा सम्मेलन सम्पन्न
Friday, May 31st, 2024, 8:04 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगञ्ज, जेठ १२ गते
नेपाली कांग्रेस नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० को दोस्रो वडा सम्मेलन सम्पन्न भएको छ । वडाकी कार्यबहाक सभापति कल्पना रेग्मी घिमिरेको अध्यक्षता तथा नेपाली कांग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा दोस्रो वडा सम्मेलन सम्पन्न भएको हो ।
वडा सम्मेलनमा बोल्दै उपसभापति अधिकारीले विगतको समीक्षा र आगामी कार्ययोजना बनाउन वडा सम्मेलन सार्थक हुने विश्वास ब्यक्त गरे । वडा नम्बर १० ऐतिहासिक वडा भएर पनि अलमलिएको भन्दै उनले आफ्नो शाख जोगाउन आग्रह गरे ।
कांग्रेस इमान्दार भए कसैले हराउन नसक्ने बताउँदै अधिकारीले इगोु पालेर पार्टी बन्न नसक्ने उल्लेख गरे । क्रियाशील सदस्यताको काम यथाशक्य सक्न उनले निर्देशन समेत दिएका छन् । पार्र्टी सचिव एवम् वडा नम्बर १० कै प्रतिनिधि सुधांशु कोइरालाले राजनीति, शिक्षा, स्वास्थ्य, व्यापार लगायतका क्षेत्रमा अग्रणी वडा भए पनि वडा नम्बर १० एकताबद्ध हुन नसकेको भन्दै दुख ब्यक्त गरे ।
संविधानपिता स्वर्गीय सुशील कोइरालाको वडालाई कमजोर हुन नदिनतर्फ सबै सचेत हुनुपर्नेमा उनको जोड छ । कोइरालाले संगठनलाई प्राथमिकतामा राखेर काम गर्न जरुरी रहेको बताए । व्यक्ति व्यक्ति बीचको लडाइँले पार्टीलाई कमजोर बनाउन नहुने कोइरालाको भनाई छ ।
नेपालगञ्ज नगरका कार्यबहाक सभापति धनराज बर्माले एक ढिक्का भए मात्र कांग्रेस मजबुत हुने बताए ।
बर्माले आपसी लडाइँले पार्टी कमजोर बन्दा निर्वाचनमा पराजय ब्यहोरिरहेको यथार्थ मनन गर्दै एकताबद्ध हुन आवश्यक रहेकोमा जोड दिए । जडिबुटी व्यवसायी संघका अध्यक्ष एवम् वडा नम्बर १० का क्रियाशील सदस्य टंक प्रसाद शर्माले सबै मिलेर कांग्रेस बलियो बनाउनुको विकल्प नरहेको बताए ।
कार्यबहाक सभापति कल्पना रेग्मी घिमिरेले पार्र्टीलाई चलायमान बनाउन सबै क्रियाशील सदस्यहरुले सक्रियता बढाउन आवश्यक रहेको बताइन् । वडाले गर्ने गतिविधिहरुमा पार्टी पंक्तिको स्वतःस्फूर्त सहभागिता हुनुपर्ने उनको भनाई छ । घिमिरेले पार्टीलाई एक बनाएर लैजाने प्रतिबद्धता समेत व्यक्त गरिन् । सम्मेलनमा पार्टीका १६ जना जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । सम्मेलनमा क्षेत्रीय प्रतिनिधि श्याम केसीले पनि आफ्नो धारणा राखेका थिए ।
वडा उपसभापति राकेश श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव विदुर शर्माले गरेका थिए । कार्यक्रममा वडा नम्वर १ की सभापती सिता काफले , वडा नम्वर ९ का सभापती अकवर शेष गुड्डु , नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ लुम्बिनीका उपाध्यक्ष शालिक सुवेदी, नेपाल प्रेस युनियन लुम्बिनीका महासचिव एवम् नेपाली कांग्रेस बाँकेका प्रेस सल्लाहकार नवीन गिरी, कांग्रेस लुम्बिनी प्रदेश प्रचारप्रसार विभागका सदस्य रविन्द्र घिमिरे लगायतको उपस्थिति थियो ।