कोहलपुर रेसिङको सहज जित, मिलन र नवदुर्गाबिच खेल बराबरी
Monday, June 17th, 2024, 8:33 pm
Kalpristha
बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल
सौरभ राना
कोहलपुर, असार ३ गते
कोहलपुर रेसिङ सहारा क्लबले बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जित हासिल गरेको छ । सोमबार भएको खेलमा कोहलपुर रेसिङ सहाराले कारकादो युवा स्पोर्टस क्लबलाई ४–१ ले पराजित गरेको छ ।
बाँकेको कोहलपुर स्थित १३ विगाहा फुटबल मैदानमा भएको खेलमा कोहलपुर रेसिङको जितमा आयुश घर्तीमगर, हेमन्त घर्तीमगर, ईश्वर श्रेष्ठ, महेश विकले १–१ गोल गर्नु भयो । आयुशले ७ मिनेट, हेमन्तले १२ मिनेट, ईश्वरले १६ मिनेट र महेशले ६०औं मिनेटमा गोल गर्नु भएको थियो ।
कारकादोका लागि सुदिप केसीले ५२औं मिनेटमा गोल गर्नु भएको थियो । खेलमा कोहलपुर रेसिङका कप्तान सुनिल थापा प्लेयर अफ द म्याचबाट पुरस्कृत हुनु भयो । थापालाई स्वेता सेनिटरी सुपर लेसका प्रोपाइटर उपेन्द्र बुढाथोकी, शिवशंक्ति नमुना आधारभुत विद्यालयका प्रअ बद्री नाथ सापकोटाले पुरस्कार प्रदान गर्नु भएको थियो । यसैगरी सोमबार भएको अर्को खेलमा मिलन युवा स्पोर्टस क्लब र नवदुर्गा युवा क्लबबिचको खेल १–१ बराबरीमा सकिएको छ ।
बराबरीमा सकिएपछि दुबै टिमले अंक बाढेका छन् । सोमबार सुरुआतमै नवदुर्गाले खेलमा अग्रता लिएको थियो । नवदुर्गाका शंकर दमाईले ६ मिनेटमा गोल गरेर टोलीलाइ अग्रता दिलाउनु भएको थियो । तर २३औं मिनेटमा मिलन युवाका सरोज केसीले गोल गर्दै खेल बराबरी गर्नु भयो । बराबरी गोल गर्ने सरोज सोमबार बिहानको खेलको प्लेयर अफ द म्याचको रुपमा पुरस्कत पनि हुनु भएको छ । उहाँलाई समाजसेवी अर्जुन जंग शाहले पुरस्कृत गर्नु भयो ।
बाँके जिल्ला फुटबल संघको आयोजनामा भैरहेको प्रतियोगिता असारको १३ गते सम्म चल्ने छ । लिगकम नकआउटको आधारमा भैरहेको प्रतियोगितामा सहभागि क्लबलाई दुई समुहमा विभाजन गरिएको छ । प्रतियोगिताको समुह ‘ए’ मा कोहलपुर रेसिङ सहारा क्लब, धम्बोझी क्लब, नवदुर्गा युवा क्लब, कारकादो युवा स्पोर्टस् क्लब, मिलन युवा स्पोर्टस क्लब रहेका छन् ।
यसैगरी समुह ‘बी’मा न्यु डाँफे स्पोर्टस् क्लब, जय किसान स्पोर्टस् क्लब, रोयल नेपालगन्ज एफसी र ओसोनिक क्लब रहेका छन् ।
…………
समुह ‘ए’ र समुह ‘बी’ को विजेता र उप–विजेता टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टिमले बाँके जिल्लाको प्रतिनिधित्व गर्दै लुम्बिनी प्रदेश लिग फुटबलमा सहभागिता जनाउने अवसर पाउनेछ । प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो खेलमा पहिलो खेल न्यु डाँफे स्पोर्टस क्लब र रोयल नेपालगन्ज फुटबल क्लबबिच हुनेछ । दोस्रो खेल जय किसान स्पोर्ट्स क्लब र ओशोनिक क्लबबिच हुनेछ ।