नेपालगन्जका सहकारी अनुगमन
Wednesday, June 19th, 2024, 7:44 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ असार
नेपालगन्ज उप–महानगरपालिकाले आफ्नो कार्य क्षेत्र भित्रका सहकारीलाई ब्यवस्थित र मर्यादित बनाउन अनुगमन गर्दै आइरहेको छ । सहकारीहरुको आर्थिक पारदर्शिता बढोत्तरी गर्दै जनमानसमा विश्वास बढाउनका लागि ब्यवस्थित रहन निर्देशन दिने गरी अनुगमनलाई सघन बनाइएको नेपालगन्ज उप–महानगरपालिका सहकारी शाखाले जनाएको छ ।
प्रत्येक बर्ष अनुगमन गर्दै आएको सहकारी शाखाले चालू आर्थिक वर्षमा पनि सहकारीहरुको अनुगमन गरिरहेको सहकारी शाखा प्रमुख प्रविण रानाले बताउनुभयो । पछिल्लो पटक नगरभित्रका थप सात वटा सहकारीमा अनुगमन गरिएको रानाले बताउनुभयो ।
ग्लोबल बचत तथा ऋण सहकारी संस्था, मध्यपश्चिम बचत तथा ऋण सहकारी संस्था, समाज कल्याण बचत तथा ऋण सहकारी संस्था, नमुना बहुउद्देश्यीय सहकारी संस्था, पूर्णिमा बहुउद्देश्यीय सहकारी संस्था, सफल बहुउद्देश्यीय सहकारी संस्था र अरुणोदय बचत तथा ऋण सहकारी संस्थामा अनुगमन गरिएको छ । यसअघि दुई वटा सहकारीमा अनुगमन गरिएको थियो । इन्द्रावती बचत तथा ऋण सहकारी संस्था र शारदा उपभोक्ता सहकारी संस्थामा अनुगमन गरिएको थियो ।
सहकारी शाखा प्रमुख राना, जिल्ला सहकारी संघका प्रवन्ध संचालक नवराज उपाध्याय, प्रेस सल्लाहकार नवीन गिरी सम्मिलित टोलीले अनुगमन गरिरहेको छ । कैफियत भेटिएका सहकारीलाई ब्यवस्थित बनाउन कार्ययोजना बनाएर सञ्चालक समितिबाट स्वीकृत गरी सात दिनभित्र पेश गर्न निर्देशन दिने गरिएको छ । निर्देशन अवज्ञा गर्ने सहकारीलाई कारबाहीको दायरामा ल्याइने सहकारी शाखाले जनाएको छ ।
सहकारी शाखा प्रमुख रानाले सहकारीलाई विधिसम्मत चलाउन सचेतीकरण गर्दै आएको बताउँदै अब पनि लापरबाही भेटिए सहकारी ऐन बमोजिम कारबाही गरिने प्रष्ट पार्नुभयो । उहाँले सच्चिनका लागि मौका दिइएको बताउँदै अब त्रुटी भेटिए आगामी दिनमा कारबाहीको दायरामा ल्याइने उल्लेख गर्नुभयो । अनुगमन टोली सदस्य उपाध्यायले सामान्य विषयमा पनि लापरबाही गरेको पाइएको बताउनुभयो । कतिपय अद्यावधिक गर्नुपर्ने विषयमा समेत गम्भीर नदेखिएको उहाँको भनाई छ ।