धम्बोझी क्लब र नवदुर्गा क्लब विजयी
Thursday, June 20th, 2024, 11:16 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ असार
धम्बोझी क्लबले बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबलमा बुधबार जित हासिल गरेको छ । कोहलपुर स्थित १३ विगाहा फुटबल मैदानमा भएको खेलमा धम्बोझीले मिलन युवा स्पोर्टस् क्लबलाई ३–० ले पराजित गरेको छ । अर्को खेलमा नवदुर्गा युवा क्लबले कारकादो युवा स्पोर्टस क्लबलाई २–१ ले पराजित गरेको छ ।
धम्बोझीको जितमा प्रेम बहादुर सुनार, लक्ष्मण राना र क्षितिज थापा मगरले १–१ गोल गरे । प्रेमले ८ मिनेट, लक्ष्मणले २० मिनेट र क्षितिजले ६०औं मिनेटमा गोल गरेका थिए । खेलमा धम्बोझीका विपिन थापा मगर प्लेयर अफ द म्याचबाट पुरस्कृत भए ।
बाँके जिल्ला फुटबल संघको आयोजनामा भैरहेको प्रतियोगिता असारको १३ गते सम्म चल्ने छ । लिगकम नकआउटको आधारमा भैरहेको प्रतियोगितामा सहभागि क्लबलाई दुई समुहमा विभाजन गरिएको छ । प्रतियोगिताको समुह ‘ए’ मा कोहलपुर रेसिङ सहारा क्लब, धम्बोझी क्लब, नवदुर्गा युवा क्लब, कारकादो युवा स्पोर्टस् क्लब, मिलन युवा स्पोर्टस क्लब रहेका छन् ।
यसैगरी समुह ‘बी’मा न्यु डाँफे स्पोर्टस् क्लब, जय किसान स्पोर्टस् क्लब, रोयल नेपालगन्ज एफसी र ओसोनिक क्लब रहेका छन् ।समुह ‘ए’ र समुह ‘बी’ को विजेता र उप–विजेता टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टिमले बाँके जिल्लाको प्रतिनिधित्व गर्दै लुम्बिनी प्रदेश लिग फुटबलमा सहभागिता जनाउने अवसर पाउनेछ ।