जानकीको गुरुवा गाउँमा बाँदर आतंक
Thursday, June 20th, 2024, 3:23 pm
Kalpristha
रबिन्द्र घिमिरे
जानकी, ६ असार
जानकी गाउँपालिकामा जङ्गलबाट आउने बाँदरहरुका कारण स्थानीयहरु आतंकित भएका छन् । वडा नम्वर ५ गुरुवा गाउँमा बाँदरले बालीनालीमा क्षती पुर्याउनुका साथै घरमा भएको सामान लैजाने र विशेषगरी स्कुले बालबालिकामाथि आक्रमण गर्ने गरेपछि स्थानीयहरु त्रसित बनेका छन् ।
केही बर्ष यता जानकी गाउँपापलका वडा नम्वर ५ स्थित गुरुवागाउँमा बाँदरको समूहले आतंक मच्चाउँदै आएको छ । दिउँसै गाउँ–टोलमै प्रवेश गरी घरमा भएको सरसामान लैजाने र विद्यार्थीहरुमाथि आक्रमण गर्दा बालबालिका त्रसित बनेका हुन् । घरमा कोही नभएको मौका पारी बाँदरले सरसामान फालिदिने, खाने र लैजाने गरेको स्थानीयको धनपति भुजवाको गुनासो छ ।
बाँदरले विद्युत तथा नेटका तार समेत छिनाल्ने गर्दा स्थानीय आजित भएका छन् । बाँदर दिनरात कुनै पनि बेला घरमा प्रवेश गर्ने र खाना लगायतका खाद्यवस्तु खाने तथा बालबालिकालाई आक्रमण गर्ने गरेका छन् । ढोकाहरु खोलेर भाँडावर्तन उठाएर लग्ने र पकाएको खाना समेत लगिदिने अर्का स्थानीय मोहन कुमार मिश्रको गुनासो छ । त्यस्तै विद्यालयमा प्रवेश गरी विद्यार्थीहरुको खाजा खोसेर खाइदिने लगायतका क्रियाकलापबाट आफूहरु समेत समस्यामा परेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थी सिताम वर्मा र अमिन साई बताउँछन् ।
विद्यालयमा पढाइरहेको समयमा कक्षा कोठामा समेत बाँदर प्रवेश गर्ने गरेका कारण विद्यार्थीहरु आतंकित भई पढाई समेत प्रभावित भएको राष्ट्रिय आधारभूत विद्यालय गुरुवागाउँ ५ की प्रधानाध्यापक सन्ध्या शर्माको भनाई छ । जङ्गलबाट आएका बाँदर नियन्त्रण तथा आरक्षण क्षेत्रमा लैजान शर्माले स्थानीय सरकारलाई आग्रह गरिन् । स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ बाट बढ्दो बाँदर आतंक नियन्त्रणका लागि नीति तथा कार्यक्रममा यसलाई समेट्ने वडा नम्वर ५ वडा अध्यक्ष तथा प्रवक्ता टिकानाथ यादवले बताए ।