कोहलपुर रेसिङ सहारा र धम्बोझी सेमिफाइनलमा प्रवेश
Friday, June 21st, 2024, 10:29 pm
Kalpristha
बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल
सौरभ राना
कोहलपुर, ७ असार
कोहलपुर रेसिङ सहारा क्लब र धम्बोझी क्लब बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छन् ।
शुक्रबार बाँकेको कोहलपुर स्थित १३ विगाहा फुटबल मैदानमा भएको खेल कोहलपुर रेसिङ सहारा क्लबले मिलन युवा स्पोर्टस क्लबलाई १–० ले पराजित गरेको छ ।
कोहलपुर रेसिङ सहाराको जितमा विपिन सिजाली मगरले ४ मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । निर्णायक गोल गरेका विपिन खेलको प्लेयर अफ द म्याचबाट पनि पुरस्कृत भए । उनलाई एपिएफ स्कुल कोहलपुरका प्रिन्सिपल मुकुन्द बिक्रम शाह र बाँके जिल्ला खेलकुद विकास समिति कोषाध्यक्ष विरेन्द्र शाहीले पुरस्कृत गरेका थिए । यसैगरी धम्बोझी क्लबले कारकादो युवा स्पोर्टस क्लबलाई ५–० ले पराजित गरेको छ । खेलमा धम्बोझी प्रेम कुमार सुनार प्लेयर अफ द म्याचबाट पुरस्कृत भए ।
असारको १३ गते सम्म चल्ने प्रतियोगिता लिगकम नकआउटको आधारमा भैरहेको छ । प्रतियोगितामा सहभागि क्लबलाई दुई समुहमा विभाजन गरिएको छ । प्रतियोगिताको समुह ‘ए’ मा कोहलपुर रेसिङ सहारा क्लब, धम्बोझी क्लब, नवदुर्गा युवा क्लब, कारकादो युवा स्पोर्टस् क्लब, मिलन युवा स्पोर्टस क्लब रहेका छन् ।
यसैगरी समुह ‘बी’मा न्यु डाँफे स्पोर्टस् क्लब, जय किसान स्पोर्टस् क्लब, रोयल नेपालगन्ज एफसी र ओसोनिक क्लब रहेका छन् ।
समुह ‘ए’ र समुह ‘बी’ को विजेता र उप–विजेता टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टिमले बाँके जिल्लाको प्रतिनिधित्व गर्दै लुम्बिनी प्रदेश लिग फुटबलमा सहभागिता जनाउने अवसर पाउनेछ ।
प्रतियोगिता अन्तर्गत शनिबारको खेलमा धम्बोझी र नवदुर्गा युवा क्लबबिच प्रतिस्पर्धा हुनेछ ।