नेपालगन्जबाट ७ दिनमा तीन बालकहरुको उद्वार
Saturday, June 22nd, 2024, 7:42 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ८ असार
बाल क्बलबाट ग्य्राजुऐट युवाहरुको संस्था सहयात्री नेपाल नेपालगन्जले ७ दिनभित्र भारतबाट तीन बालकहरुको उद्वार गरेको छ । सामाजिक कार्य गर्ने उद्देश्यका साथ सक्रिय सहयात्रीले नेपालबाट हराएका ७ दिनको अन्तरालमा तीन बालकहरुको खोजतलास गरी भारतबाट सकुशल उद्वार गरेको हो ।
जेष्ठ ७ गते कञ्चनपुरको दोधारा चाँदनीबाट विद्यालय पोशकमै तीन बालकहरु बेपत्ता भएका थिए । सहयात्रीले सूचना पाएलगत्तै उनीहरुको खोजतलस जुटेको र पहिलो चरणमा जेष्ठ ३१ गते दुई बालकहरुको उद्वार गरेर नेपाल पिर्ता ल्याएको थियो । बाँकी एक बालकको भने दोस्रो चरणमा भारतबाट उद्वार गर्न सफल भएको छ ।
यसअघि नै उद्वार गर्न पुगेको सहयात्रीको टिमले केही प्राविधिक कठिनाईका रोकिएका एक बालकको शुक्रबार असार ७ गते नेपाल ल्याउन सफल भएको हो । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका १३ वर्षीय उक्त बालकको भारतको शाहजहाँपुरबाट उद्वार गरि ईलाका प्रहरी कार्यालय र जनप्रतिनिधीको रोहबरमा परिवारको जिम्मा समेत लगाएको छ ।
पहिलो चरणमा उद्वार गरेर ल्याउन नसकिएको बालक पनि ल्याउन सफल भएको सहयात्री नेपाल बाँकेका अध्यक्ष ऋतिक शाहीले जानकारी दिनुभयो । भारतको उत्तर प्रदेशस्थित बरेलीमा जोखिममा अवस्था रहेका ती बालकहरुलाई भारतीय प्रहरीले फेला पारेर राजकिय बालगृह शाहजहाँपुरमा राखिएको थियो । बालगृह र प्रहरीको सहकार्यमा दोस्रो पटक ल्याइएका बालकलाई घरपरिवारलाई जिम्मा लगाईएको अध्यक्ष शाहीले बताउनुभयो ।
शुक्रबार ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक होम प्रकाश चौधरी, दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगादेबी जोशी, दोधारा चाँदनी नगरपालिकाका महिला, बालबालिका शाखा प्रमुख डम्मरा पन्त लेखकको रोहबरमा घरपरिवारको जिम्मा लगाईएको हो । सो क्रममा नगर उपप्रमुख जोशीले सहयात्रीले गरेको कार्यको प्रशंसा गर्नुभएको थियो ।
सहयात्री नेपालको प्रशंसनिय कार्यका लागि नगरपालिकाको तर्फबाट समेत उप प्रमुख जोशीले यो उत्कृष्ठ कार्य कहिल्यै नबिर्सने भन्दै संस्थाप्रति हार्दिक कृतृज्ञता व्यक्त गर्नुभएको थियो । भारतकै वनवासाबाट हराएका तीन बालकहरुमध्ये जेष्ठ ३१ गते नै नेपाल भारत सीमा नजिक भारतको चम्पावतबाट १४ र ७ वर्षका दुई बालकको उद्धार गरेको थियो । उनीहरु तीनै जना जेष्ठ ७ गते घरबाट विद्यालय गएको र उतैबाट हराएका थिए ।
बालकहरु हराएका सूचना सहयात्री नेपालका पदाधिकारीले जानकारी पाएपछि भारत पुगेर उनीहरुको उद्धार कार्यमा खटिएको थियो । आफुहरुले जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र सो अन्तर्गतका प्रहरी कार्यालयसँगको सहकार्यमा बालकहरूको उद्वार गरि अभिभावकहरुको जिम्मा लगाइएको अध्यक्ष शाहीले बताउनुभयो ।
‘स्थानीय सरकार र अधिकारीहरूसँगको समन्वयमा राजकीय बाल गृह, शाहजहाँपुर, बाल कल्याण समिति बरेलीले विभिन्न कागजातहरु माग गरेको थियो,’ संस्थाका अध्यक्ष शाहीले भन्नुभयो, ‘हामीले भारतमा माग गरिएका सबै कागजातहरू पुरा गरेर उद्वार प्रक्रियामा खटेका थियौं, फलस्वरुप बालकहरूलाई सुरक्षितरुपमा नेपाल ल्याएर परिवारको जिम्मा लगाउन सफल भएका छौं ।’
उद्वारका लागि पहिलो पटक सहयात्रीको टिम जेष्ठ ३० गते बरेली प्रस्थान गरेको थियो । बरेली पुगेको भोलिपल्ट नै जेष्ठ ३१ गते १४ र ७ वर्षका दुई बालक उद्वार गरि नेपाल ल्याएको थियो । सहयात्रीले गरेको पहल तथा उद्वार कार्यका लागि एन आर एनए महिला मंच, नारी निकुञ्ज अष्ट्रेलियाले आर्थिक सहयोग र भारतमा रहेको नेपाली दुतावाससँग समन्वय गरिएको थियो । विगतमा नेपालगञ्जमा बाल क्लबमा सक्रिय युवाहरुको टिम मिलेर सहयात्री नेपाल नामक संस्था बनाएर सामाजिक कार्यमा सक्रिय भएका छन् ।