भन्सार छलिको सुनसहित बाँकेका दिलसाद खाँ पक्राउ
Saturday, June 22nd, 2024, 7:43 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ८ असार
भन्सार छलेर सुन ल्याएको आरोपमा तीन जना पक्राउ परेका छन् ।
बाँके खजुरा गाउँपालिका वडा नं–८ का २४ वर्षीय मोहम्मद दिलसाद खाँ, नवलपरासी पूर्व गैंडाकोट नगरपालिका वडा नं–१३ घर भई काठमाडौं महानगरपालिका वडा नं–२६ बस्ने ४३ वर्षीय सन्तोष परियार, सोही वडामा बस्ने तनहुँ भानु नगरपालिका वडा नं–७ घर भएका २५ वर्षीय अन्जिल गुरूङ पक्राउ परेका हुन ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार सिनामंगलबाट पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयको प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार प्रहरीले कतारबाट नेपाल आउने हिमालय एयरलाइन्सको उडानमार्फत् नेपाल आउने केही व्यक्तिहरूले भन्सार छलेर सुन ल्याई कारोबार गरेको गोप्य सूचना पाएको थियो ।
सोही सूचनाको आधारमा छानबिन गर्दा मोहम्मद दिलसाद खाँको शरीरमा खानतलासी गर्दा ९ लाख ९९ हजार ३९६ रूपैयाँ बराबरको ६९.८९० ग्राम सुनको ब्रासलेट १ थान, ११.६५० बेरूवा औंठी भेटिएको हो ।
उनलाई पक्राउ गरेपछि सुन ओसारपसार कार्यमा संलग्न भएको परियार र अन्जिललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट पनि सुन बरामद गरिएको छ ।
पक्राउ परेका तीनै जनालाई भन्सार ऐन २०६४ अन्तर्गत कसूरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।