लुम्बिनी प्रदेशको १४ हजार हेक्टर वन क्षेत्र अतिक्रमण
Saturday, June 22nd, 2024, 7:45 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ८ असार
लुम्बिनीको वन क्षेत्र मानवीय अतिक्रमणमा पर्दै गएको छ । जंगल मासेर बस्ती बस्ने क्रम बढ्दा वन अतिक्रमण तीव्र हुँदै गएको हो । प्रदेशमा भएको नौ लाख ७४ हजार ३८१ हेक्टरमध्ये २०८१ जेठ मसान्तसम्म १४ हजार बढी हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको प्रदेश वन निर्देशनालयको तथ्यांकले देखाउँछ ।
रुपन्देहीमा मात्र आठ हजार ३ सय ४७ हेक्टर वन अतिक्रमण भएको वरिष्ठ वन अधिकृत सुजन धिमालले जानकारी दिए । प्रदेशभरमा सबैभन्दा बढी अतिक्रमण यहि जिल्लामा भएको हो । रुपन्देहीमा कुल २४ हजार ९७६ हेक्टर वनको क्षेत्रफल छ । जसमा ८ हजार हेक्टर वन अतिक्रमण भएको हो । कपिलवस्तुमा भएको ६९ हजार ४४८ हेक्टरमध्ये २ हजार ३ सय ८८.३ हेक्टर वन अतिक्रमणमा परेको छ ।
नवलपरासीमा ७ सय ४६ हेक्टर, बाँकेमा ६ सय ७ हेक्टर, बर्दियामा २ सय ८७ हेक्टर, दाङमा २ हजार १ सय ३४ हेक्टर वन अतिक्रमण भएको छ । यस्तै, गुल्मीमा ८४, रोल्पामा ५१, अर्घाखाँचीमा १८, प्यूठानमा १४ र पाल्पामा १० हेक्टर वन अतिक्रमण भएको छ। २०८१ जेठ मसान्तसम्म प्रदेशले एक सय २३ हेक्टर वन अतिक्रमणबाट फिर्ता गरेको निर्देशनालयका वरिष्ठ वन अधिकृत धिमालले बताए ।
उनका अनुसार वन क्षेत्र मानव अतिक्रमणमा परेको र ठूला बस्ती नै वन क्षेत्रमा भएकाले वनले फिर्ता ल्याउन कठिन छ । ‘वन हुँदै सडक पुगेको छ । छेउछाउ बस्ती बसेका छन् । त्यसैले पनि वन अतिक्रमण भएको क्षेत्र फिर्ता ल्याउन कठिन छ’, उनले भने ।
लुम्बिनी प्रदेशका १८ वटा स्थानीय तहमा एक हजार हेक्टर भन्दा कम वनक्षेत्र रहेको छ । त्यस्तै राष्ट्रिय वन नै नभएको नौ वटा स्थानीय तह छन् । नौ स्थानीय तहमध्ये रुपन्देहीमा मात्रै पाँच स्थानीय तह छन् ।
जिल्लाको कोटहिमाई, मर्चवारी, मायादेवी, समरीमाई र लुम्बिनी सांस्कृतिक नगरपालिकामा राष्ट्रिय वन छैनन् । त्यस्तै कपिलबस्तुका शुद्धोधन गाउँपापलिका, यशोधरा गाउँपालिका र कृष्णनगर नगरपालिकामा पनि राष्ट्रिय वन छैन । बाँकेको जानकी गाउँपालिका पनि शून्य वन क्षेत्र भएको पालिका हो ।