लुम्बिनी सरकारलाई दिएको समर्थन जसपा नेपालद्वारा फिर्ता
Sunday, June 23rd, 2024, 5:48 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ९ असार
समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले आज विज्ञप्ति जारी गर्दै आजका मितिदेखि नै प्रतिपक्ष दलको भूमिकामा बस्ने निर्णय भएको जानकारी गराएकी हुन् ।
यसअघि गत जेठ ५ गते बसेको पार्टीको लुम्बिनी प्रदेश समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोही अनुसार संविधानको धारा १८८ को उपधारा २ बमोजिम जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दललाई समेत सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन पार्टीले दिइसकेको विज्ञप्तिमा उल्लेख छ ।
सो पार्टी विभाजनपछि काफ्ले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीमै बस्नुभएको थियो । उहाँले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि सरकार भने अल्पमतमा पर्दैन ।
………..
हाल लुम्बिनी प्रदेश सभामा जसपा नेपालका ३ जना सांंसद छन् । जसमा भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाल अशोक राईको जसपामा लागिसकेका छन् । उनीहरु दुबै बाँकेका हुन् । अहिर हाल सरकारको कृषि तथा भूमि व्यवस्था मन्त्री छन् । लुम्बिनी सरकारलाई जसपा नेपालले दिएको समर्थन फिर्ता लिए पनि माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जोखबहादुर महरा नेतृत्वको लुम्बिनी सरकारलाई फरक भने पर्दैन ।
उनलाई नेकपा एमालेका २९, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ४, जसपाका २ र नेकपा एकीकृत समाजवादीका १ सांंसद गरी ४७ जनाको समर्थन रहेको छ । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांंसद आबश्यक हुने हुँदा महरालाई ४७ जनाको समर्थन रहेको छ ।