धम्बोझी र कोहलपुर रेसिङले फाइनलमा प्रतिस्पर्धा गर्ने
Tuesday, June 25th, 2024, 8:33 pm
Kalpristha
बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल
सौरभ राना
कोहलपुर, ११ असार
नेपालगन्जको धम्बोझी क्लब र कोहलपुर रेसिङ सहारा क्लबले बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा धम्बोझीले रोयल नेपालगन्ज एफसीलाई ३–० ले पराजित गरेको छ । धम्बोझीको जितमा विपिन थापाले २ गोल र प्रेम कुमार सुनारले १ गोल गरे ।
प्लेयर अफ द म्याचबाट पुरस्कृत विपिनले २०औं र ४४औं मिनेटमा गोल गरेका थिए । प्रेमले ५४औं मिनेटमा गोल गरेर टोलीको जितलाई सहज बनाएका थिए । कोहलपुर स्थित १३ विगाहा फुटबल मैदानमा भएको खेल दोस्रो सेमिफाइनल खेलमा कोहलपुर रेसिङ सहारा क्लबले न्यु डाँफे स्पोर्टस क्लबलाई २–१ ले हरायो । कोहलपुर रेसिङको जितमा विशाल थापा मगर र सन्देश न्यौपानेले १–१ गोल गरेका थिए ।

………….
विशालले ४९औं मिनेट र सन्देशले ५२औं मिनेटमा गोल गरे । न्यु डाँफेको तर्फबाट विधान विकले १८औं मिनेटमा गोल गरेका थिए । खेलमा कोहलपुर रेसिङका विशाल थापा मगर प्लेयर अफ द म्याचबाट पुरस्कृत भए ।
बाँके जिल्ला फुटबल संघको आयोजनामा भैरहेको प्रतियोगिताको फाइनल खेल असार १३ गते हुनेछ । प्रतियोगिताको विजेता टिमले बाँके जिल्लाको प्रतिनिधित्व गर्दै लुम्बिनी प्रदेश लिग फुटबलमा सहभागिता जनाउने अवसर पाउनेछ ।