वडा अध्यक्षको मिलेमतोमा एकल महिलाको जमिन कब्जा गरिएको आरोप
Friday, June 28th, 2024, 8:44 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ असार
राप्तीसोनारी गाउँपालिका–०७ बिसमभरपुरकी एकल महिला रेश्मा कुमार थारुले आफनो डेढ कठ्ठा जमिन स्थानीय कुञ्ज बिहारी थारुले कब्जा गरेको आरोप लगाएकी छिन् ।
आफनो परिवारले २०२८ सालदेखि भोगचलन गर्दै आएको जमिन मध्ये डेढ कठ्ठा कुञ्ज बिहारी थारुले कब्जा गरेको रेश्माले बताईन् । अहिले त्यही जमिन पाउन रेश्मामा कानुनी लडाईका लागि विभिन्न निकायमा धाईरहेकी छिन् ।
राप्तीसोनारी गाउँपालिका–०७ वडा अध्यक्ष राम लखन थारुको मिलेमतोमा आफनो जमिन जर्वजस्ती कब्जा गरिएको रेश्माले आरोप लगाईन् । आफुले भोगचलन गर्दै आएको जमिन वडा अध्यक्ष राम लखन थारुको मिलेमतोमा कुञ्ज बिहारी थारुले चार वर्ष अघि देखि भोगचलन गर्दै आएको भन्दैं रेश्मा अहिले कानुन न्यायको लागि सम्बन्धित निकायहरुमा धाईरहेकी छिन् ।
उनले भनिन,‘वडा अध्यक्षको मिलेमतोमा मेरो जमिन कब्जा गरिएको छ । न्यायिक निकायबाट निर्णय हुँदा समेत कुञ्ज बिहारी थारुले जमिन छोडेको छैन् ।
गाउँपालिकाको न्यायिक निकायले निर्णय गर्दा समेत त्यसलाई वडा अध्यक्षले कार्यान्वयन गरेनन् । उल्टै मलाई डर धम्की दिदैं त्यो जमिन मेरो होइन भन्दै तर्साउने गरेका छन् ।’
उक्त विवादमा वडा अध्यक्ष राम लखन थारुले विवादित रुपमा एउटै जमिनलाई फरक–फरक व्यक्तिको रहेको भन्दैं वडा कार्यालयबाट जग्गा भोग चलन प्रमाणित गरेका छन् । दुई कार्यकाल वडा अध्यक्षमा निर्वाचित थारुले पहिलो कार्यकालमा गरेको निर्णयलाई उल्टाउँदै दोस्रो कार्यकालमा फेरी अर्को निर्णय गरेका कारण विवाद थप बढेको छ ।
सुरुआतमा २०७५–०८–०६ गते राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ को चलानी नम्बर ३२८ को पत्र अनुसार उक्त जमिन रेश्मा कुमारी थारु रहेको भनेर प्रमाणित गरिएको छ । तर आफनै निर्णयलाई उल्टाउँदै वडा अध्यक्ष थारुले २०८०–१२–०१ गते १७९६ चलानी नम्बरको पत्र अनुसार कुञ्ज विहारी थारुको रहेको भन्दैं सर्जीमीन मुचुल्काको आधारमा गाउँपालिकामा विवरण पठाएका छन् । गाउँ सर्जीमिन गर्दा आफु निकटका व्यक्तिलाई मात्र बोलाएर झुक्काएर गाउँसर्जीमिन गरिएको आशापति थारुले आरोप लगाएकी छिन् ।
उनले भनिन, ‘एकल महिला अन्यायमा परेकी छिन् । वडा अध्यक्षले न्याय दिनु पर्नेमा उल्टै पिडा दिएका छन् । गाउँको सबैलाई थाहा छ त्यो जमिन रेश्माको ससुराको पालादेखि उनीहरुको परिवारले भोगचलन गर्दै आएको छ । तर वडा अध्यक्षले कसरी कुञ्ज बिहारीको हो भनेर प्रमाणित गर्नु भयो ? ।’
बिसमभरपुरमा रहेको उक्त जमिन रेश्ममका ससुराले २०२८ सालदेखि भोगचलन गर्दै सरकारी कागजातमा देखिन्छ । उक्त जमिन रेश्माको परिवारले निरन्तर भोगचलन गदै आएको गाउँपालिकाबाट पनि भोगचलन प्रमाणित भएको जमिन हो । तर वडा अध्यक्ष लामलखन थारुले आफु घरमा नभएको बेला स्थानीय कुञ्ज बिहारी थारुलाई स्थानीय गाउँलेहरुको सर्जिवन गरेको आधार जमिन भोगचलन गर्न दिएको रेश्माले आरोप लगाईन् ।
आफु अन्यायमा परेको भन्दैं रेश्मा चौधरीले २०७६ सालमा राप्तीसोनारी गाउँपालिका न्यायिक समितिमा निवेदन दिएकी थिइन् । तत्कालिन उपाध्यक्ष धनीकुमारी खत्रीले रेश्माको पक्षमा फैसला गर्दै जग्गा तत्काल छोडनको लागि कुञ्ज बिहारीलाई पत्रचार गरेकी थिईन । तर गाउँपालिकाको न्यायिक समितिको निर्णयलाई समेत उनले लत्याउँदै वडा अध्यक्षले पछिल्लो समय कुञ्ज बिहारी थारु जमिन रहेको प्रमाणित गरेका छन् ।
रेश्माले लगाएको आरोपको खण्डन गर्दै वडा अध्यक्ष राम लखन थारुले उक्त जमिन कुञ्ज बिहारी थारुकै भएको बताएका छन् । उनले भने,‘मेरो यसमा कुनै मिलेमतो छैन् । उहाँ(रेश्मा)ले लगाएको आरोप झुठो हो । स्थानीयले गरेको सर्जीमीनको आधारमा उक्त जमिन कुञ्ज बिहारीको भएको मैले प्रमाणित गरेको हुँ ।’
तर वडा अध्यक्षको गल्तीको कारण जग्गा विवाद बढेको देखिन्छ । एउटै जमिनलाई दुई पटक फरक– फरक व्यक्तिको भएको भनेर प्रमाणित गरेपछि वडा अध्यक्ष थप विवादित बन्न पुगेका छन् ।
………
……….