वडा भेला तथा सम्मान कार्यक्रम सम्पन्न
Friday, June 28th, 2024, 9:12 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ असार
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ ले शुक्रबार वडा भेलाको अवसरमा सम्मान कार्यक्रम गरेको छ । वडाको विकासमा योगदान गरेको भन्दैं ६ जनालाई सम्मान गरिएको हो ।
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष तरुण कुमार बज्राचार्यको अध्यक्षतमा भएको कार्यक्रममा २३ वर्ष सेवा गरेर सेवा निवृत तीन जना स्वास्थ्य स्वयमसेविकालाई नगद सहित सम्मान गरिएको थियो । स्वास्थ्य स्वयम सेविका तुलसा थापा, बिना पाण्डे र रेश्मा गौतमलाई जनही ११ हजार सहित सम्मान गरिएको हो ।
यसैगरी वडा कार्यालयका कार्यालय सहयोग पुष्पा पराजुली, सामाजिक परिचालिका दीपा उपाध्यायलाई सम्मान गरिएको थियो ।
वडा भेलाको अवसरमा बेलासपुरको बागेश्वरी आधारभुत विद्यालयबाट सेवा निवृत प्रअ सरिता श्रेष्ठ खड्का, शिक्षिका गीता पौडेललाई पनि सम्मान गरिएको थियो ।
वडा भेलामा विगत दुई वर्षमा गरेको काम गरेको प्रगति विवरणको बारेमा सार्वजनिक गर्दै आर्थिक वर्ष २०८१–८२ को लागि वडावासीसँग नयाँ योजनाहरुको माग गरिएको अध्यक्ष बज्राचार्यले बताए ।
आर्थिक वर्ष २०८१–०८२ को लागि उप–महानगरपालिकाबाट ९१ लाख ८४ हजार रुपैयाँको सिलिङ प्राप्त भएको बज्राचार्यले बताए ।
शुक्रबार वडा कार्यालयमा भएको वडा भेलामा जेष्ठ नागरिक क्लबका अध्यक्ष अजित कुमार शर्मा, वडा सदस्य सुशिला पन्त, राज कुमार वाल्मिकी, वडा सचिव नेबलाल घर्ती, वडा भित्रका १४ वटा टोल विकास समितिका अध्यक्ष तथा पदाधिकारी र स्थानीयहरुको सहभागिता रहेको थियो ।
आर्थिक वर्ष २०८१–०८२ मा लक्षित वर्गका जनतालाई विशेष प्राथमिकता दिदैं शिक्षा, स्वास्थ्य, रोजगारी र भौतिक पुर्वाधारका योजनामा जोड दिइने वडा अध्यक्ष तरुण बज्राचार्यले बताए ।
………..