प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वास मत लिने
Tuesday, July 2nd, 2024, 12:11 pm
Kalpristha
कालपृृष्ठ समाचारदाता
काठमाडौं, १८ असार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल पदबाट राजीनामा नदिने भएका छन् । बालुवाटारमा मंगलबार बिहान बसेको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने बताएका हुन् ।
प्रधानमन्त्री संसदबाट विश्वास मत लिने पक्षमा देखिएका छन् । सरकारलाई समर्थन गरेको कुनै एक दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वास मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
बैठकपछि पार्टीका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीले राजीनामा नदिने र विश्वास मतको सामना गर्ने निष्कर्ष निकालिएको जानकारी दिए ।
‘प्रधानमन्त्रीले गलेर छोड्ने कुरा भएन, विश्वास मत लिने प्रधानमन्त्रीले धारणा बनाउनु भएको छ,’ पौडेलले भने, ‘कांग्रेस, रास्वपा, एमालेलगायत दलसँग पनि संवाद गर्ने कुरा भएको छ ।’ उनले कांग्रेस र एमालेबीच भएको भनिएको सहमतिमा के विषयमा संविधान संशोधन गर्ने हो भन्ने कुरा आफूहरूले बुझ्न बाँकी रहेको पनि बताए ।
‘पछिल्ला परिवर्तन उल्टने त होइनन्? कतै २०४७ को संविधान उल्टाउन खोजिएको त होइन?,’ उनले भने, ‘यसबारे हामी विभिन्न पक्षसँग छलफल गर्छौं ।’
प्रधानमन्त्रीले विश्वास मत प्राप्त गर्न नसके प्रतिपक्षमा बसेर आफ्ना एजेन्डा उठाइरहने पनि उनले बताए ।