खाना र विविध शिर्षकमा मनपरी खर्च गर्दै बाँकेका स्थानीय तह
Thursday, July 4th, 2024, 7:17 pm
Kalpristha
आ.व.२०७९–८० मा १ करोड ९२ लाख ८५ हजार २ सय २२
बाँकेमा यस शिर्षकमा सबै भन्दा धेरै खर्च गर्ने पालिकामा जानकी गाउँपालिका अगाडी रहेको छ । जानकीले गएको आर्थिक वर्षमा खाना र विविध खर्चमा ४३ लाख ४६ हजार खर्च गरेको छ ।
दोस्रो धेरै रकम खर्च गर्ने डुडुवाले ४३ लाख १ हजार ८ सय ४२ रुपैयाँ खर्च गरेको छ । धेरै रकम खर्च गर्नेमा तेस्रो रहेको पालिका खजुराले २९ लाख ६१ हजार ९ सय ९८ रुपैयाँ खर्च गरेको छ ।
कमल खत्री
नेपालगन्ज, २० असार
जनताको सेवा गर्ने उद्देश्यले निर्वाचित भएर आएका बाँकेका जनप्रतिनिधि र कर्मचारीले औचित्य खुल्न नसक्ने शिर्षकमा करोडौको रकम खर्च गरेर आर्थिक अनियमितता गरेका छन् ।
बाँकेका प्राय सबै पालिकाले खाना र विविध शिर्षकमा गरेको खर्च अस्वभाविक देखिएको छ । खाना र विविध शिर्षकमा कहाँ, कहिले र किन गरियो भनेर स्पष्ट तथ्यांक समेत छैन् ।
स्थानीय तहले गरेको मनपर्दी खर्चलाई महालेखापरीक्षक कार्यालयले आर्थिक अनियमितता भएको आफनो रिपोर्टमा उल्लेख गरेको छ । यसरी अनियमित तरिका रकम खर्च गर्नुमा जनप्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृत मुख्य दोषि देखिन्छन् ।
गाउँपालिकामा हुने गरेको आर्थिक कमिसनका कारण जनप्रतिनिधिले गरेको सबै खर्चलाई प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृतले भुक्तानी दिने गरेका छन् । स्थानीय तहमा जनप्रतिनिधिहरुले दिएको बिलमा पालिकाका कर्मचारीहरुले थप बिल बनाएर पेस गर्ने गरेका कारण खर्च रकम बढेको देखिन्छ । नियम विपरित आएका विलहरुलाई समेत भुक्तानी गरेर प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृत भ्रष्टाचारमा संलग्न हुने गरेका छन् ।
स्थानीय तहले खाना र विविध शिर्षकमा मनपरी रकम खर्च गरेर राज्यलाई आर्थिक भार पार्ने क्रम हरेक वर्ष बढ्दो क्रममा छ । यसमा नियन्त्रण गर्न तर्फ कुनै पनि पालिकाले अग्रसरता देखाएका छैनन् ।
महालेखापरीक्षकको रिपोर्ट अनुसार आर्थिक वर्ष २०७९–०८० बाँकेका ८ स्थानीय तहले करिब २ करोड रुपैयाँ खाना र विविध शिर्षकमा खर्च गरेका छन् । महालेखापरीक्षक कार्यालयले सार्वजनिक गरेको रिर्पोटमा बाँकेका स्थानीय तहहरुले १ करोड ९२ लाख ८५ हजार २ सय २२ रुपैयाँ खर्च गरेको उल्लेख छ ।
महालेखापरीक्षक कार्यालयले बाँकेका स्थानीय तहले खाना र विविध शिर्षकमा गरेको खर्चलाई अनियमितता र सैद्धान्तिक बेरुजु भएको भन्दैं मितव्ययिता कायम राख्न निर्देशन दिएको छ ।
बाँकेमा यस शिर्षकमा सबै भन्दा धेरै खर्च गर्ने पालिकामा जानकी गाउँपालिका अगाडी रहेको छ । जानकीले गएको आर्थिक वर्षमा खाना र विविध खर्चमा ४३ लाख ४६ हजार खर्च गरेको छ ।
दोस्रो धेरै रकम खर्च गर्ने डुडुवाले ४३ लाख १ हजार ८ सय ४२ रुपैयाँ खर्च गरेको छ । धेरै रकम खर्च गर्नेमा तेस्रो रहेको पालिका खजुराले २९ लाख ६१ हजार ९ सय ९८ रुपैयाँ खर्च गरेको छ । नरैनापुर गाउँपालिकाले २४ लाख, बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकाले समान रुपमा १७ लाख ९२ हजार खर्च गरेका छन् । सबै भन्दा कम खर्च गरेको नेपालगन्ज उप–महानगरपालिकाले १३ लाख ७० हजार ५ सय ९ रुपैयाँ खर्च गरेको छ ।
…………
राप्तीसोनारी गाउँपालिकाले उक्त शिर्षकमा ३ लाख २० हजार ८ सय ८२ रुपैयाँ खर्च गरेको तथ्याकमा उल्लेख छ । यद्यपी राप्तीसोनारीको खर्च रकम भने स्पष्ट छैन् ।
स्पष्टसँग खर्च गर्नुको औचित्य खुल्न नसक्ने शिर्षकमा करोडौको रकम खर्च गरेर स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिले राज्यको ढुकुटीलाई गलत रुपमा प्रयोग गर्दै आएका छन् । यसमा सुधारका लागि महालेखापरीक्षक कार्यालयलले बारम्बार निर्देशन दिदा समेत स्थानीय तहले त्यसलाई पालना गर्ने गरेका छैनन् ।