“साङ्गीतिक योगदानका लागि बीपी वाग्ले राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित”
Thursday, July 11th, 2024, 7:48 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, २७ असार
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले बिपी वाग्लेलाई संगीतको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै ‘राष्ट्रिय युवा प्रतिभा सम्मान २०८१’ प्रदान गरेको छ । वाग्लेलाई असाधारण सिर्जनशीलता, उद्यमशीलता र नेपाली युवामा आफ्नो गीतसंगीतको माध्यमबाट सकारात्मक प्रभाव पारेको भन्दै देशव्यापी रूपमा प्राप्त आवेदकहरूमध्येबाट सर्वोत्कृष्ट युवा प्रतिभा घोषित गरिएको हो ।
नेपाली सांगीतिक क्षेत्रमा दुई दशकसम्म सफलता हात पारेर चर्चित बनेका वाग्लेले सरकारबाट प्रमाणपत्र सहित एक लाख रुपैयाँ नगद पुरस्कार समेत पाएका छन् । नेपालको प्रशासनिक केन्द्र सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका नौ जना प्रतिभावान व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।
विगत दुई दशकदेखि नेपाली गीतसंगीतको विकास र विश्वव्यापी मान्यतामा महत्वपूर्ण योगदान पुर्याएका वाग्ले प्रकृति प्रेम, ध्यान र बौद्धिक विकास जस्ता विषयवस्तुलाई सम्बोधन गर्ने विशेष क्षमता भएका संगीतकर्मी मानिन्छन् । विशेषगरी बालबालिकाका लागि उनले आफ्नो सांगीतिक प्रयास प्रस्तुत गरेका छन् । मनोरञ्जनका अलावा सामाजिक चेतना, रुपान्तरण र समग्र सामाजिक विकासमा केन्द्रित वाग्लेका गीतहरू आज नेपाली समाजको प्रमुख सांगीतिक विकल्प बन्दै गएका छन् ।
समारोहमा वाग्लेले बालबालिकाको मनोरञ्जन र मनोवैज्ञानिक विकासका लागि थप गीतहरू निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । निकट भविष्यमा धेरै रचना सार्वजनिक गर्ने योजना रहेको उनले बताए । आफ्नो संगीतलाई अन्य भाषामा अनुवाद गरी विश्व श्रोतासम्म पुर्याउने लक्ष्यअनुसार काम अघि बढिरहेको उनले बताए ।
कार्यक्रमलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालले सम्बोधन गरेका थिए । सचिव अर्यालले भने ‘राष्ट्रिय युवा प्रतिभा पुरस्कारले सम्मानित हुने व्यक्तित्वहरूको कलात्मक उपलब्धिलाई मात्र होइन बृहत् मानवीय फाइदाका लागि उनीहरूले देखाएको समर्पणलाई पनि जोड दिएको छ ।’ कार्यक्रममा नेपाल सरकारका विशिष्ट व्यक्तिहरु, मन्त्रालयका सचिवहरु, सहसचिव तथा अधिकृतहरु, नागरिक समाजका व्यक्तिहरु लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।