नेपालगन्ज उप–महानगरपालिकाको आ.व. २०८१÷८२ को बजेट पारित
Saturday, July 13th, 2024, 7:20 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २९ असार
नेपालगन्ज उप–महानगरपालिकाको आर्थिक बर्ष २०८१÷८२ को बजेट पारित भएको छ । शनिवार बसेको नगरसभाको १५औं अधिवेशनको दोस्रो बैठकले असार १० गते पहिलो बैठकमा प्रस्तुत आर्थिक बर्ष २०८१÷८२ को बार्षिक राजश्व र व्ययको अनुमान (बजेट) सर्वसम्मत पारित गरेको हो ।
सभा अध्यक्ष एवम् नगर प्रमुख प्रशान्त विष्टले बजेट स्वीकृतिका लागि सभामा पेश गर्नुभएको थियो । नेपालगन्ज उप–महानगरपालिकाले आगामी बर्षका लागि १ अर्ब ५० करोड ३८ लाख ८६ हजार बराबरको बजेट ल्याएको छ । आन्तरिक आयतर्फ २० करोड ११ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य छ ।
त्यसैगरी दोस्रो बैठकले आर्थिक विधेयक २०८१, विनियोजन विधेयक २०८१ र आन्तरिक आय व्यवस्थापन तथा नियमन विधेयक २०८१ पनि पारित गरेको छ । नेपालगन्ज उप–महानगरपालिका नगर कार्यपालिकाको कार्यालय र अन्तर्गतका वडा कार्यालयहरुरबाट पेश भए बमोजिमको आर्थिक बर्ष २०८१÷८२ को बजेट, योजना तथा कार्यक्रमहरु पनि स्वीकृत भएका छन् ।
यस्तै सभा अध्यक्ष एवम् नगर प्रमुख विष्टले स्वीकृतिका लागि सभामा पेश गर्नुभएको ‘नेपालगन्ज उप–महानगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा ब्यवस्थित गर्न बनेको ऐन २०७४ खारेज तथा संघीय ऐन कार्यान्वयन’ पनि पारित भएको छ । १५औं नगर अधिवेशनको दोस्रो बैठकबाट बालबालिका सम्बन्धि ऐन २०७७ को संशोधन पनि स्वीकृत भएको प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्काले बताउनुभयो ।
नेपालगन्ज उप–महानगरपालिका र अन्तर्गतका वडा कार्यालयहरुमा करार सेवामा कार्यरत कर्मचारी तथा दैनिक ज्यालादारी कर्मचारीहरुको म्याद थप सम्बन्धि एजेण्डा पनि सभाले स्वीकृत गरी पारित गरेको छ । यस्तै पूर्वाधार विकास समितिका संयोजक बसन्त कुमार कनोजियाले तयार पार्नुभएको प्रतिवेदन पनि सभाले स्वीकृत गर्दै पारित गरेको छ ।
कनोजियाले संस्थागत सुधारका लागि आफ्ना सुझाव समेत समेटेर प्रतिवेदन वाचन गर्नुभएको थियो । उहाँले दण्ड तथा पुरस्कारको नीति अबलम्बन गर्नुपर्नेमा जोड दिनुभएको छ । कनोजियाले कर्मचारीको कार्यसम्पादन सम्झौता कार्यान्वयनको आवश्यकता पनि औंल्याउनुभएको छ । १५औं अधिवेशनको दोस्रो बैठकमा सभाका उपाध्यक्ष एवम् नगर उपप्रमुख कमरुद्दिन राईले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।