डिएसपी हुँ भनि ठगी गर्ने ब्यक्ति पक्राउ
Wednesday, July 17th, 2024, 6:07 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २ साउन
नक्कली डीएसपी बनेर ठगी गर्दै हिँड्ने एक युवक सक्कली डीएसपीको फन्दामा परेका छन् । नेपाल प्रहरीको डीएसपी भएको भन्दै ठगी गर्दै हिँडेका दैलेखका एक युवकलाई इलाका प्रहरी कोहलपुरले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी बाँकेको टोलीले दैलेख नारायण नगरपालिका–५ घर भएर बाँके बस्दै आएका ३० वर्षीय नैनसिंह बिकले विगत ३ महिनादेखि आफूलाई कहिले सीआइबी र राष्ट्रिय अनुसन्धानको डीएसपी भन्दै विभिन्न सर्वसाधारणलाई ठगी गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
नैनसिंहले बाँकेका विभिन्न सरकारी कार्यालयमा गएर आफू डीएसपी नवीन शाही रहेको बताउँदै अनुगमनको शिलसिलामा काठमाडौंबाट आएको भन्दै सरकारी कार्यालय प्रमुख र अन्य कर्मचारीलाई भेट्ने र सर्वसाधारण जनतालाई ठग्दै हिँडेको जानकारी पाए लगत्तै गएको इलाका प्रहरी कोहलपुरका डीएसपी धर्मराज भण्डारीको टोलीले कथित डीएसपीलाई मंगलबार पक्राउ गरेको हो ।
कोहलपुर–११ एनटिभी रोडबाट पक्राउ परेका नक्कली डीएसपी नैनसिंहले अन्य स्थानहरुमा पनि आफू डीएसपी भएको भन्दै ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको इलाका प्रहरी कोहलपुरले जानकारी दिएको छ ।