कमैया मुक्त घोषणाको २४ वर्ष, पुनःस्थापनामा ढिलाई भएको गुनासो
Wednesday, July 17th, 2024, 7:12 pm
Kalpristha
लीलाधर वली
दाङ, २ साउन
कमैया मुक्त घोषणा भएको २४ वर्ष पुगेको छ । २०५७ साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा गरेको थियो । कमैया मुक्तिको लामो समय बितेपनि दाङको घोराही उपमहानगरपालिका–१६ स्यानी अम्बापुर निवासी सवी चौधरी पुनःस्थापना हुन सक्नुभएकी छैन ।
विगत १८ बर्षदेखि मुक्त कमैया शिविरमा बस्दै आउनुभएकी चौधरी पुनःस्थापनाको पर्खाइमा रहनुभएको छ । राज्यले पुनःस्थापना गर्नेगरी कमैया मुक्तिको घोषणा गरेपनि अहिलेसम्म पुनःस्थापना नगर्दा मुक्त कमैया शिविरमा बस्नुपरेको भन्दै चौधरीले भन्नुहुन्छ,‘सरकारले पुनःस्थापना गर्ने भनेपनि अहिलेसम्म गर्न सकेको छैन, जस्ले गर्दा अहिलेपनि मुक्त शिविरमा बसेर जीविको पार्जनका लागि अरुको काम गर्नुपर्ने बाध्यता छ ।’ सरकारले पुनःस्थापना गरे स्थायी बसोवासको ग्यारेण्टी हुने भन्दै पुनस्थापना नहुँदा १८ बर्षदेखि टहरामा दिन काट्नुपर्ने अवस्था रहेको बताउँनुहुन्छ ।
सरकारले २०५७ साल साउन २ गते देशभरबाट १८ हजार २ सय ८८ जनालाई कमैया मुक्त घोषणा गरेको थियो । घोषणा भएको २४ वर्ष पुग्दा समेत आफु जस्ता कमैले कमैया अहिलेसम्म परिचयपत्र समेत पाउन नसकेको राप्ती गाउँपालिका–७ पत्तथरगढवा निवासी रामकुमारी चौधरी बताउनुहुन्छ । कमैया परिचयपत्र नहुँदा कमैया मुक्त भएको दिनलाई हर्ष र खुशीका साथ मनाउनुपर्ने भएपनि आन्दोलनका रुपमा मनाउनुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । सरकारले मुक्त कमैया घोषणा गरेपनि पुनःस्थापनामा ध्यान नदिदा अहिलेसम्म मुक्त कमैयासम्वन्धी समस्या समाधान हुन नसकेको बताउनुहुन्छ ।
लमही नगरपालिका–४ निवासी बालकृष्ण चौधरी ४० बर्ष कमैया जीवन बिताएर २०५७ सालमा कमैया जीवनबाट मुक्त हुनुभयो । कमैया मुक्त हुँदा जग्गासहित घर बनाइदिने सरकारले भनेको थियो । तर कमैया मुक्त भएको २४ वर्ष पुग्दा पनि समस्या समाधान नभएको ७५ वर्षीया चौधरी बताउनुहुन्छ । अहिले पनि मुक्त कमैया समस्या उस्तै रहेको भन्दै भन्नुभयो,‘सरकारले कमैया मुक्तिको घोषणा गरेपनि कमैयाका दिन फेरिन्छन कि झै लागेको थियो । तर अवस्था फेएिन ।’
छुट मुक्त कमैयाको सूचीमा पर्नुभएका बालकृष्णले सरकारी सूचीमा आफ्नो नाम समावेश गर्न थुप्रै आन्दोलनमा सहभागी भएपनि अहिलेसम्म आफ्नो माग पुरा नभएको बताउनुहुन्छ । उहाँहरु मात्र होइन सरकारले २०५७ सालमा कमैया मुक्तिको घोषणा गरेपनि पुनस्थापनामा ध्यान नदिदा धेरै मुक्त कमैयाको अधिकारबाट बञ्चित हुनु परेको मुक्त कमैया समाज दाङका अध्यक्ष हरिचन्द्र चौधरी बताउनुहुन्छ ।
अध्यक्ष चौधरीका अनुसार जिल्लामा अहिले पनि दुई हजार बढि मुक्त कमैयाले परिचयपत्र पाउन सकेका छैनन् । सरकारले मुक्त गरेपनि मुक्त कमैया भनेर परिचयपत्रसम्म नपाउँदा बालबच्चाको पठनपाठनदेखि मुक्त कमैयाका नाममा आउने सेवा सुविधाबाट बञ्चित हुनुपरेको बताउँनुहुन्छ । दाङ जिल्लामा परिचयपत्र पाएका एक हजार चार सय २६ जना मुक्त कमैयामध्ये छ सय ८८ जनाले मात्रै जग्गाधनी लालपुर्जा प्राप्त गरेका छन् । जिल्लामा दाङ र देउखुरी गरेर विभिन्न १४ वटा मुक्त कमैया शिविरमा बसोवास गर्दै आएका मुक्तकमैयामध्ये १६ घरले लालपुर्जा भएपनि जग्गा प्राप्त गर्न सकेका छैनन् ।
मुक्त कमैयालाई प्रदान गरिने परिचयपत्र उपलब्ध गराउने र सोही आधारमा सेवा सुविधा प्राप्त गर्ने बाटो खुल्ने भएकाले दाङको राप्ती गाउँपालिकाले छुट मुक्त कमैयाको लागत संकलनको काम गरिरहेको राप्ती गाउँपालिका उपाध्यक्ष कमलापति चौधरी बताउँनुहुन्छ ।
कमलरी समुदायबाटै राप्ती गाउँपालिकामा उपाध्यक्ष समेत जित्नुभएकी चौधरीले भन्नुभयो,‘मुक्त कमैयाको परिचयपत्र बनाउने र सेवा सुविधा प्रदान गर्दा सोही परिचयपत्रका आधारमा दिने गरि लगत संकलनको काम भइरहेको छ ।’
राप्ती गाउँपालिकाले सुरु गरेपनि जिल्लामा अन्य स्थानीय तहले भने नगरेको अध्यक्ष चौधरी बताउनुहुन्छ । मुक्त कमैया घोषणा भएपनि समस्या समाधानका लागि विभिन्न समिति, कार्यदल, आयोग नाम दिएर १८ वटा बनेपनि मुक्त कमैयाको समस्या समाधान हुन नसकेको अध्यक्ष चौधरी बताउनुहुन्छ ।
यसैविच मुक्त कमैयाहरुले २४ औं मुक्त कमैया दिवस मनाएका छन् । दाङको घोराहीमा ¥यालीसहित मुक्त कमैया दिवस मनाएका हुन । मुक्त कमैया समाज दाङको आयोजनामा भएको ¥यालीपछि घोराहीको खुल्ला मन्चमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले मुक्त कमैया सम्वन्धी समस्या समाधानमा ध्यान दिन आग्रह गर्नुभएको थियो । लामो समयसम्म पुनःस्थापना नहुँदा विभिन्न अवसरबाट बञ्चित हुनपर्ने अवस्था भएको भन्दै उहाँले जति सक्यो चाडै मुक्त कमैया सम्वन्धी समस्या समाधान गर्न आग्रह गर्नुभएको थियो ।