शनिबार नेपालगन्ज कोरा-२०२४ हुँदैं
Thursday, July 18th, 2024, 8:24 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३ साउन
नेपालगन्जमा आगामी शनिबार नेपालगन्ज कोरा-२०२४ हुने भएको छ । बाँके जिल्ला साइक्लिङ संघ र नेपालगन्ज साईक्लिङ क्लबको संयुक्त आयोजनामा हुन लागेको नेपालगन्ज कोरा-२०२४ मा १ सय ५० भन्दा बढीको सहभागिता हुने आयोजकले जनाएको छ ।
बिहिबार पत्रकार सम्मेलन गर्दै बाँके जिल्ला साइक्लिङ संघका अध्यक्ष गगन थापाले यस पटक नेपालगन्जको धम्बोझीमा रहेको पम्प ट्रयाकलाई आर्थिक सहयोग जुटाउने उद्देश्यले आयोजना गर्न लागेको बताए । यस पटक नेपाल भर हुन कोरा-२०२४ को आयोजनाबाट संकलन भएको रकम पम्प ट्रयाक नेपालगन्जलाई आर्थिक सहयोग गरिने नेपालगन्ज साईक्लिङ क्लबका अध्यक्ष प्रदिप सापकोटाले बताए ।
शनिबार नेपालगन्जको न्युरोड स्थित बौद्ध गुम्बाट औपचारिक कार्यक्रम गरेर सुरु हुने नेपालगन्ज कोरा-२०२४ मा सहभागिहरुले जिल्लाका विभिन्न धार्मिक एवम् पर्यटकीय स्थलहरुलाई परिक्रमा गर्नेछन् । यो वर्ष २५ किलोमिटर, ५० किलोमिटर र १ सय किलोमिटर र प्याब्सन नेपालगन्जको सहकार्यमा १० किलोमिटर किड्स कोरा पनि आयोजना गरिदैछ ।
नेपालगन्ज कोरा-२०२४ अन्तर्गत १ सय किलोमिटरमा ४३ जना, ५० मिटरमा ३७ जना र २५ किलोमिटरमा २० जनाले सहभागिता तयारी गरिरहेको आयोजकले बताएको छ । नेपालगन्ज कोरा-२०२४ का सहभागीहरुले बौद्ध गुम्बा, बागेश्वरी मन्दिर, जामा मस्जिद हडियाबाबा, ज्योती चर्च हुदैं आफनो लक्ष्य अनुसारको दुरी पार गर्नेछन् ।
बिहिबार एक कार्यक्रमका बिच नेपालगन्ज कोरा-२०२४ को सहभागीहरुले लगाउने टिर्सट सार्वजनिक गरिएको छ । बाँके जिल्ला साईक्लिङ संघका अध्यक्ष गगन थापा, नेपालगन्ज साईक्लिङ क्लबका अध्यक्ष प्रदिप सापकोटा र ओमोडा गाडीको लागि बाँके-बर्दियाको आधिकारिक बिक्रेता सिद्धार्थ टेक प्रालीका प्रबन्ध निर्देशक विवेक श्रेष्ठले संयुक्त रुपमा टिर्सट सार्वजनिक गरे ।