बादशाहको नेतृत्वमा लुम्बिनी प्रदेश सरकारमा सहभागी हुदैं कांग्रेस
Wednesday, July 24th, 2024, 4:55 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ९ साउन
बादशाह कुर्मीको नेतृत्वमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सरकारमा सहभागी हुदैं छ । प्रदेश प्रमुख शेरचनले एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । लुम्बिनी प्रदेशको छैटौँ मुख्यमन्त्री बनेका आचार्यलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २९ र नेपाली कांग्रेसका २७ सहित ५६ प्रदेशसभा सदस्यको समर्थन छ ।
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । नवनियुक्त मुख्यमन्त्री आचार्यलाई प्रदेश प्रमुख शेरचनले संविधानको धारा १७२ बमोजिम पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
संविधान धारा १६८ को उपधारा ९ बमोजिम आजै मुख्यमन्त्री आचार्यको सिफारिसमा नियुक्त आठजना बिनाविभागीय मन्त्रीहरूलाई प्रदेश प्रमुख शेरचनले पद तथा गोपनीयताको शपथ गराएका छन् । मुख्यमन्त्री आचार्यले आजै एमालेबाट चारजना र कांग्रेसबाट चारजना बिनाविभागीयमन्त्री नियुक्तिको सिफारिस गरेका थिए ।
प्रदेश प्रमुख शेरचनले एमालेका भुमिश्वर ढकाल, दिनेश पन्थी, सीता शर्मा, खेमबहादुर सारु र कांग्रेसका सरोज थापा, धनेन्द्र कार्की, बादशाह कुर्मी र प्रचण्डविक्रम न्यौपानेलाई बिनाविभागीय मन्त्रीको शपथ गराउनुभएको हो । नवनियुक्त मन्त्रीहरूको दुवै दलबीच सहमतिपछि मात्र विभागीय जिम्मेवारी तोकिने छ ।