महासचिव रानाभाटसँग स्पष्टीकरण माग
Wednesday, July 24th, 2024, 9:14 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ९ साउन
नेपालगन्ज उद्योग वाणिज्य संघको मंगलबार बसेको बैठकले महासचिव भीम बहादुर रानाभाटसँग स्पष्टीकरण माग गरेको छ । संघको बैठकले जानीजानी कार्यसमितिको बैठकमा अनुस्थित रही संघको कार्य सम्पादनमा असहयोग गरेको भन्दैं महासचिव रानाभाटलाई तीनदिन भित्र आफै उपस्थित भई लिखित स्पष्टीकरण पेश गर्न अनुरोध गरेको छ ।
तोकिएको समयभित्र लिखित स्पष्टीकरण पेश नगरेमा वा पेश गरेको स्पष्टीकरण र प्रमाणहरु सन्तोषजनक नदेखिएमा विधान बमोजिम कारबाही गरिने नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले जनाएका छन् ।
महासचिवले आफनो पदीय जिम्मेवारी अनुसार काम नगरेकोले संघको विधानको दफा २९(क) बमोजिम लिखित स्पष्टीकरण माग गर्ने निर्णय गरिएको संघका कोषाध्यक्ष मख्खन धामीले बताएका छन् । बुधबार संघका अध्यक्ष टंक धामीले महासचिव रानाभाटलाई स्पष्टीकरण सोधिएको पत्र समेत पठाएका छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघ वर्तमान कार्यसमिति निर्वाचित हुनु अगावै महासचिव पदको विषयलाई लिएर विवाद उत्पन्न हुँदै आएको छ । महासचिव पदका उम्मेदवार टंक शर्माले सम्पुर्ण मतपत्र गणना नगरी नतिजा घोषणा गरिएको भन्दैं अदालतमा मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा सर्वोच्च अदालतले मतपत्र सुरक्षित राख्न आदेश जारी गरेको छ । यस बारेमा भएको विवाद अहिले पनि सर्वोच्चमा विचारधिन अवस्थमा छ ।
निर्वाचन समितिले रानाभाटलाई विजेता घोषणा गरेपछि उनले महासचिव पदको जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए । तर पछिल्लो समय महासचिवले कार्यसमितिलाई असफल पार्ने प्रयास गरेको आरोप लाग्ने गरेको छ । महासचिवलाई बैठकको सम्बन्धमा पठाइएको पत्र समेत बुझ्न इन्कार गरेको, बैठकमा जानीजानी नआएको, संघको कामकारबाहीमा सहयोग नगरेकोले विधानको दफा २९(ठ) बमोजिम लिखित स्पष्टीकरण माग गर्ने निर्णय गरिएको छ ।

…………