नेपालगन्ज रंगशालामा कहिले खेल्न पाउँछन खेलाडीले ?
Saturday, September 21st, 2024, 1:53 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ असोज
पछिल्लो समय नेपालगन्जमा स्तरीय प्रतियोगिता हुन सकेका छ्रैनन् । प्रतियोगितासँगै खेलाडीले नेपालगन्ज रंगशालामा प्रशिक्षण समेत गर्ने अवसर पाएका छैनन । कारण हो प्रशिक्षण गर्ने स्थलको अभाव ।
राज्यले अर्बौ लगानी गरेर निर्माण गरेको खेलकुदका भौतिक पुर्वाधार व्यवस्थापन कमजोर हुँदा खेलाडीले प्रशिक्षण समेत गर्न पाएका छैनन । नेपालगन्ज रंगशाला यहाँका खेलाडीहरुको लागि प्रमुख प्रशिक्षण केन्द्र हो ।
तर राष्ट्रिय खेलकुद परिषद अन्तर्गतका निकायहरुको खेलाडीप्रतिको उदासिनताका कारण पनि प्रशिक्षणका कार्यक्रम प्रभावित हुने गरेका छन् । पछिल्लो समय नेपालगन्ज रंगशालामा खेलाडीहरुले कहिले प्रशिक्षण गर्न पाउँछन भन्ने प्रश्न उठन थालेको छ । यसका लागि खेलाडी, प्रशिक्षक, संघले त्यसमा चासो दिन थालेका छन् ।
नेपालगन्ज रंगशालामा खेलाडीहरुले खेल्न पाउनु पर्ने माग राखेका छन् । अर्बौ रकम खर्च गरेर नेपालगन्जमा राज्यले खेलकुदको पुर्वाधार निर्माण गरेपनि त्यसको उपभोग खेलाडीहरुले गर्न नपाएको गुनासो गरेका छन् ।
५ वर्ष अघि नेपालगन्जमा भएको आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको कारण देखाउँदै नेपालगन्ज रंगशालामा खेलाडीलाई प्रशिक्षण गर्न रोक लगाइएको थियो । त्यसपछि नेपालगन्ज रंगशामा बनिरहेको ‘सिन्थेटिक ट्रयाक’ कारण खेलाडीले प्रशिक्षण गर्न पाएनन् ।
राष्ट्रिय खेलकुद परिषद अन्तर्गत मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेशको मातहतमा रहेको नेपालगन्ज रंगशालामा हाल कुनै पनि गतिविधि हुन सकेका छैनन् ।
कारण रंगशाला प्रयोग गर्नको लागि खेलाडीहरुलाई चर्को शुल्क निर्धारण गरिएको छ । सहज रुपमा रंगशाला खेलाडीले प्रयोग गर्न नपाएको भन्दैं अधिकारकर्मी विश्वजित तिवारीले त्यसको बिरोध गर्दै आउनु भएको छ ।
शुक्रबार फुटबल प्रशिक्षणका लागि भन्दैं बाँके जिल्ला फुटबल संघले रंगशालाको मैदान एक वर्षको लागि माग गरेको छ ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीले फुटबल प्रशिक्षकका लागि आवश्यक सहयोग गरिदिन भन्दैं मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेशका नेपालगन्जसँग माग गर्नु भएको हो ।
बाँके जिल्ला फुटबल संघ अध्यक्ष शाही, उपाध्यक्ष अनिल केसी र निर्मल चन्द सहितको टिमले मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेशका नेपालगन्जका कार्यालय प्रमुख महेश चन्दलाई पत्र बुझाउँदैं फुटबल प्रशिक्षणका लागि रंगशाला उपलब्ध गराईदिन माग गर्नु भएको छ ।
२०७६ सालमा नेपालगन्जमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएपश्चात फुटबल खेलाडीले नियमित रुपमा रंगशालाको प्रयोग गर्न पाएका छैनन् ।
करिब ७ वर्ष सम्म फुटबल खेलाडीले नेपालगन्ज रंगशालामा प्रशिक्षण गर्न नपाएको भन्दैं अध्यक्ष शाहीले फुटबलको विकासमा असर परेको बताउनु भयोे ।
संघले असोज १५ गते देखि एक वर्ष सम्म यु–१२ स्तरको खेलाडीहरुलाई नियमति रुपमा प्रशिक्षण गराउने योजना रहेको बताउँदैं उक्त प्रशिक्षणमा सहयोग गरिदिन शाहीले सम्बन्धित सम्पुर्ण निकायलाई ध्यानाकर्षण गराउनु भएको छ ।
नियमित रुपमा फुटबल प्रशिक्षण नहुँदा बालबालिकाहरुमा मोबाई फोबिया, अटिजम जस्ता समस्याहरु देखिपरिरहेको हुनाले फुटबलको माध्यमबाट बालबालिकाको मानसिक र शारीरिक विकासको लागि नियमित प्रशिक्षण कार्यक्रम गर्न जरुरी रहेको शाहील बताउनु भयो ।