लेखा अभिलेख, आयकर र भ्याट सम्बन्धी अभिमुखीकरण सम्पन्न
Saturday, September 21st, 2024, 6:21 pm
Kalpristha
कमल खत्री
धम्बोझी, असोज ६ गते
महिला उद्यमीहरुलाई व्यवसायमा सक्षम बनाउने उद्देश्यले नेपालगन्जमा दुई दिने लेखा अभिलेख, आयकर र भ्याट सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
महिला उद्यमी संघ नेपाल बाँकेको आयोजनामा शनिबार सम्पन्न भएको अभिमुखीकरण कार्यक्रममा बाँकेका २६ महिला उद्यमीहरुको सहभागिता रहेको थियो । नेपालको पश्चिम क्षेत्रमा महिला उद्यमी संघ नेपाल बाँकेले महिलाहरुलाई उद्यमी बन्न अभिप्रेरित गर्दै क्षमता अभिवृद्धिका कार्यक्रमका संचालन गर्दै आएको छ ।
लेखा अभिलेख, आयकर र भ्याट सम्बन्धी भने पहिलो पटक अभिमुखिकरण कार्यक्रम गरिएको आयोजक महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष साबित्रा बस्नेत पोखरेलले बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘महिला उद्यमीहरुलाई आफनो व्यवसायमा सक्षम गराउनको लागि हामीले काम गरिरहेका छौं । यो अभिमुखिकरण कार्यक्रम महिला उद्यमीहरुका लागि महत्वपुर्ण छ । उद्यम गर्ने महिलाले नीती, नियम, कर जस्ता कुराहरुको बारेमा जानकारी हुनु पर्छ । यस्ता जानकारीले महिलालाई उद्यम, व्यवसायमा सहयोग गर्ने गर्छ ।’
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ स्थित सिटी कलेजमा भएको अभिमुखीकरणका सहभागिहरुलाई महेन्द्र बहुमुखी क्याम्पसका सह–प्राध्यापक अशोक बस्नेत, महिला उद्यमी संघ नेपाल बाँकेका सल्लाहाकार हरि सुवेदीले सहजीकरण गर्नु भएको थियो ।
अभिमुखिकरणको पहिलो सत्रमा हरि सुवेदीले उद्यमशीलता भनेको के हो, उद्यमी बन्न के–के गर्ने, बजारीकरण कसरी गर्ने लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो । दोस्रो सत्रमा सह–प्राध्यापक बस्नेतले लेखा, आयकर, भ्याटको बारेमा सहजीकरण गर्ने तालिक रहेको आयोजकले जनाएको छ ।
शुक्रबार महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष सावित्रा पोखरेल बस्नेतको अध्यक्षतामा सुरु भएको उद्घाटन कार्यक्रममा संघका पुर्व अध्यक्षहरु अन्जु गुरुङ, सुशिला गौतम, निर्वतमान अध्यक्ष निरुपमा रस्तोगी, उपाध्यक्षहरु रेवती सिंह, आभा गौतम, सुनिता पाण्डे, महासचिव सरिता शाक्य लगायतको सहभागिता रहेको थियो ।

……………..