निष्कृय सहकारीलाई कारबाही गर्दै राप्तीसोनारी गाउँपालिका
Tuesday, October 1st, 2024, 9:25 pm
Kalpristha
कमल खत्री
राप्तीसोनारी, १५ असोज
नियम संगत नचलेका सहकारीलाई बाँकेको राप्तीसोनारी गाउँपालिकाले कारबाही गर्ने भएको छ । राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले कागजी रुपमा मात्र सिमित रहेर बसेका सहकारीलाई कारबाहीको प्रक्रिया सुरु गरिएको बताउनु भयो ।
सहकारीका बारेमा आम मानिसमा नकारात्मक सन्देश गैरहेको बेला राप्तीसोनारीले सहकारी क्षेत्रलाई चुस्त र सक्षम बनाउने योजना सहित काम गरिरहेको अध्यक्ष पौडेलले बताउनु भयो । उहाँले भन्नु भयो, ‘राप्तीसोनारीमा सहकारीले थुप्रै उत्पादनशिल क्षेत्रमा काम गरिरहेका छन् । केहि सहकारीले राम्रो पनि गरिरहेका छन् । तर कुनै सहकारी कागजमा मात्रै सिमित भए । त्यस्ता सहकारीलाई हामी कारबाही गछौं । गरिब जनताको बचत रकमलाई फिर्ता गर्ने गरी त्यस्ता सहकारीलाई कारबाही प्रक्रिया अगाडी बढाउँछौं ।
…………..
राप्तीसोनारी गाउँपालिकामा ४४ वटा सहकारी रहेका छन् । त्यसमध्ये ३९ वटा सहकारीमात्र सक्रिय रहेको राप्तीसोनारी गाउँपालिका सहकारी शाखा प्रमुख गंगा वलीले बताउनु भयो । सुरुआतमा निष्कृय रहेका सहकारीलाई ३५ दिन भित्र शेयर सदस्यको रकम फिर्ता गर्नुपर्ने गरी प्रतिवेदन पेश गर्ने समय दिइएको शाखा प्रमुख गगा वलीलले बताउनु भयो । ३५ दिन दिनभित्र प्रतिवेदन सहित सहकारीको प्रतिनिधिले समन्वय समितिमा सम्पर्क गर्न नआए सहकारी ऐन २०७४ र नियामवली २०७५ कारबाही गरिने वलीले जानकारी गराउनु भयो ।
यसैगरी समन्वय समितिको बैठकले नेपाल सरकारको कर्मचारीलाई सहकारीको कार्यसमितिको पदाधिकारी र लाभको पद लिएर बसेकालाई हटाउन निर्देशन दिएको छ । गाउँपालिमा संचालनमा रहेको कतिपय सहकारीमा सरकारी कर्मचारीले समेत काम गरिरहेको गुनासो आएपछि त्यस्तो निर्णय गरिएको वलीले बताउनु भयो । सरकारी कर्मचारीलाई पदबाट नहटाएमा सहकारी ऐन २०७४, नियमावली २०७५ र राप्तीसोनारी गाउँपालिकाको सहकारी एने तथा नियमावली २०७५ अनुसार कारबाही गर्ने गाउँपालिकाले तयारी गरेको छ ।
मंगलबार राप्तीसोनारी गाउँपालिका क्षेत्रभित्र संचालनमा रहेका सहकारी र जनप्रतिनिधिको उपस्थितीमा समीक्षा गोष्ठी समेत आयोजना गरिएको थियो । राप्तीसोनारी गाउँपालिका स्तरीय सहकारी समीक्षा गोष्ठीलाई सम्बोधन गर्ने क्रममा पौडेलले काम नगरेर निष्कृय अवस्थामा रहेका सहकारीलाई कारबाही गर्ने बताउनु भएको हो ।
उहाँले भन्नु भयो,‘सहकारी देशको आर्थिक विकासको मेरुदण्ड हो । सहकारीमा गाउँघरमा थोरै पुँजी भएका जनताले बचत गर्छन् । उहाँहरुको त्यो पुँजीको सुरक्षा गर्नु हाम्रो दायित्व हो । राप्तीसोनारीले सहकारी क्षेत्रलाई विकासको आधार मानेको छ । सहकारी क्षेत्र बलियो भयो भने गाउँपालिकाको आर्थिक स्तर पनि माथि उठदै जान्छ । त्यसैले हामी सहकारीलाई उत्पादनशील क्षेत्रमा काम गर्न आग्रह गर्दछौं ।’
मंगलबार राप्तीसोनारी सहकारी समन्वय समितिको आयोजनामा भएको गाउँपालिका स्तरीय सहकारी समीक्षा गोष्ठीमा पालिका भित्र रहेका सहकारीका प्रतिनिधिहरुको उपस्थितीमा सहकारीका बारेमा छलफल समेत गरिएको थियो । राप्तीसोनारी सहकारी समन्वय समितिका अध्यक्ष जमानसिंह वलीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारु, वडा नम्बर ४ अध्यक्ष मीन बहादुर खड्का लगायतको सहभागिता रहेको थियो ।
समीक्षा गोष्ठीमा गाउँपालिका उपाध्यक्ष थारुले मल र विउ वितरण गर्ने सहकारीले सबै जनतालाई समान रुपमा व्यवहार गरेर काम गर्नु पर्ने बताउनु भयो । मल वितरणका क्रममा जनताहरुको धेरै गुनासो आएको बताउँदै उपाध्यक्ष थारुले आगामी दिनमा त्यस्ता गुनासो नआउने गरी काम गर्न सहकारीका प्रतिनिधिहरुलाई निर्देशन दिनु भएको थियो ।
समन्वय समितिका अध्यक्ष जमान सिंह वलीले सहकारी क्षेत्रलाई बलियो बनाउनको लागि गाउँपालिकाले अनुदान भन्दा पनि काम गर्नको लागि सुरक्षित वातारणको निर्माण गर्नु पर्ने धारणा राख्नु भयो । उहाँले भन्नु भयो, ‘सहकारीले उत्पादनशिल क्षेत्रमा काम गर्न सक्छ । त्यसको लागि गाउँपालिकाले बजारीकरणमा सहयोग गरोस । हामीलाई अनुदान चाहिएको छैन । काम गर्ने वातावरणको आवश्यकता छ ।’ सहकारी र स्थानीय निकायको साझेदारीमा कृषि क्षेत्रमा आफुहरु काम गर्न तयारी भएको बताउँदै गाउँपालिकाले त्यसको लागि योजना बनाउनु पर्ने उहाँले सुझाव दिनु भयो ।