प्रधानमन्त्री ओली र प्रचण्डबीच सोमबार कार्यदलको प्रतिवेदनबारे छलफल हुने
Sunday, August 23rd, 2020, 4:10 pm
amit
काठमाण्डौ, ७ भदौ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कार्यदलको प्रतिवेदनबारे छलफलका लागि भोलि बिहान साढे ९ बजेको समय तय भएको छ ।
गत साउन ३० गते गठन भएको नेकपा कार्यदलले शनिबार आफ्नो प्रतिवेदन बुझाएको थियो भने कार्यदलले बुझाएको प्रतिवेदनमा सरकारको काममा प्रधानमन्त्री ओली केन्द्रित रहने र पार्टीको काममा प्रचण्ड केन्द्रित रहने प्रस्ताव गरिएको छ ।
कार्यदलले पाँचै वर्ष प्रधानमन्त्री ओली नै रहने र पार्टीमा प्रचण्डको भूमिका बढाउने प्रस्ताव समेत पेश गरेको छ ।
त्यस्तै कार्यदलले दिएको सुझावअनुसार प्रचलित प्रवधान अनुसार राजनीतिक नियुक्तिहरु गर्ने, कमिटी प्रणाली अनुसार विधि पद्धतिमा जानुपर्ने र सरकारलाई प्रभावकारी बनाउनुपर्नेछ ।
कार्यदलको प्रतिवेदनबारे दुई अध्यक्षबीच छलफल भएपछि सचिवालय बैठक बस्ने र त्यसपछि स्थायी कमिटीमा छलफल गर्ने नेकपा नेताहरुको तयारी छ ।
स्रोतका अनुसार आज नै दुई अध्यक्षबीच छलफल हुने भनिएतापनि प्रचण्डले प्रतिवेदन अध्ययन गर्न बाँकी रहेकाले सोमबारको लागि तय भएकोे हो ।