दुर्घटना न्यूनिकरण गर्न ई–रिक्सा संघद्धारा सचेतना अभियानको सुरुआत
Wednesday, November 27th, 2024, 8:19 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ मंसिर
नेपालगन्जमा दुर्घटना न्युनिकरणको लागि ई–रिक्सा चालकहरुलाई ट्राफिक नियमको बारेमा जानकारी गराउने उद्देश्य सहित सचेतना मुलुक अभियान सुरु भएको छ ।
अटो टेम्पो तथा ई–रिक्सा व्यवसायी संघ बाँकेले बुधबार देखि अभियानको सुरुआत गरेको हो । पहिलो चरणमा नेपालगन्जको मुख्य चोकहरुमा तीन दिन सम्म सचेतना जगाउने कार्यक्रम तय भएको अटो टेम्पो तथा ई–रिक्सा व्यवसायी संघ बाँकेका अध्यक्ष धिरज प्रताव सिंहले बताउनु भयो ।
बुधबार नेपालगन्जको गणेशमान चोकबाट अभियान सुरु भएको छ । पहिलो दिन करिब १ सय ५० भन्दा बढी ई–रिक्सा चालक तथा सवारी धनीहरुलाई ट्राफिक नियमहरुको बारेमा जानकारी गराएको अध्यक्ष सिंहले बताउनु भयो । उहाँले भन्नु भयो,‘नेपालगन्जमा पछिल्लो समय ई–रिक्सा दुर्घटनको संख्या बढिरहेको छ । ई–रिक्सा चालकहरुले ट्राफिक नियमको बारेमा थाहा नपाउँदा, लापरबाही गर्दा क्षति भैरहेको छ । त्यसलाई न्युनिकरण गर्न हामीले पहिलो चरणमा ट्राफिक नियमको बारेमा जानकारी गराउन सचेतना मुलुक कार्यक्रम सुरु गरेका हौं । यसपछि अन्य थुप्रै कार्यक्रम गर्ने संघको योजना छ ।’
बिहिबार नेपालगन्जको पुष्पलाल चोकमा ई–रिक्सा चालकहरुलाई ट्राफिक नियम बारेमा बुझाउनको लागि निःशुल्क रुपमा सचेतना मुलुक कार्यक्रम गर्ने तय भएको अध्यक्ष सिंहले बताउनु भयो ।
अभियान अटोटेम्पो तथा ई–रिक्सा व्यवसायी संघ बाँकेका पदाधिकारी, सदस्य, कर्मचारी, जिल्ला प्रहरी कार्यालय बाँकेका वरिष्ठ सई सन्तोष शाह, नगरप्रहरी, ट्राफिक प्रहरीहरुले पनि सहयोग गर्नु भएको थियो ।
ई–रिक्सा चालकहरुको हितको लागि अभियान महत्वपुर्ण रहेको अटो टेम्पो तथा ई–रिक्सा व्यवसायी संघ बाँकेका महासचिव कुमार सिंह ठकुरीले बताउनु भयो । दुर्घटना दैनिक रुपमा बढिरहेको अवस्थामा अभियानले चालकलाई सचेत बनाउने उहाँले बताउनु भयो । महासचिव ठकुरीले भन्नु भयो,‘नेपालगन्ज उप–महानगरपालिकाले ई–रिक्सा दर्ता, नविकरण, अस्थायी सवारी चालक अनुमति पत्र दिने गर्छ । तर यसका बारेमा धेरै चालक र सवारी धनीले वास्ता गर्नु भएको छैन । यसले सवारी धनी र ई–रिक्सा चालक दुबैलाई धेरै समस्या पार्ने गरेको छ ।’
ई–रिक्साहरुको हकहितको लागि संघले निःशुल्क रुपमा सेवा मुलुक कार्यक्रम गर्दै जाने महासचिव ठकुरीले बताउनु भयो । उहाँले भन्नु भयो,‘ई–रिक्साको नाममा अहिले थुप्रै समुहले ठगिरहेका छन् । ई–रिक्सा चालकलाई निःशुल्क सहयोग गछौं भनेर पैसा उठाइरहेका छन् । दर्ता गर्नु पर्दैन, सवारी चालक अनुमति पत्र लिनु पर्दैन भन्ने जस्ता भ्रम फैलाइरहेका छन् । यो गलत हो ।’
ई–रिक्सा चालकहरुलाई कानुनी रुपमा बलियो बनाएर सम्भावित दुर्घटनाबाट हुन सक्ने क्षतिलाई रोक्नको लागि संघले काम गरिरहेको महासचिव ठकुरीले बताउनु भयो ।
संघका उप–महासचिव एजाज बाबु जोलाहले ई–रिक्सा चालकले सवारी चलाउँदा ट्राफिक नियमको पालना गरेमा दुर्घटना हुने सम्भावना निकै कम हुने बताउनु भयो । चालकको लापरबाहीका कारणले दुर्घटना हुने गरेको उहाँले भनाई राख्नु भएको थियो ।
……………..
अभियानको क्रममा चालकहरुलाई मादक पदार्थ तथा नसाजन्य औषधी सेवन नचलाउने, ई–रिक्साको दायाँपट्टी फलामे डन्डी जोड्ने, लाइनमा ई–रिक्सा चलाउने, ई–रिक्सा रोक्दा सडकको बायाँ भागको पहेलो लाईन भन्दा बाहिर गएर रोक्ने, ई–रिक्सा दायाँ बायाँ मोड्दा साइड लाईट र संकेत गरेर जाने, ई–रिक्सा चालक परिचय पत्र बनाउने, सवारी साधान दर्ता, नविकरण गर्ने, जथाभावी पार्किङ नगर्ने, यात्रुहरुसँग सभ्य व्यवहार गर्ने लगायतका बारेमा सचेतना जगाउने गरिएको महासचिव ठकुरीले बताउनु भयो ।