मनोचिकित्सक सङ्घको राष्ट्रिय सम्मेलन नेपालगन्जमा
Thursday, November 28th, 2024, 7:39 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ मंसिर
नेपाल मनोचिकित्सक सङ्घको दुई दिने १०औँ राष्ट्रिय सम्मेलन बिहीबारदेखि यहाँ सुरु भएको छ । सम्मेलनको स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले उद्घाटन गर्दै मानसिक स्वास्थ्यलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुँदै गएको उल्लेख गर्दै सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर छट्टै विभाग बनाइएको बताउनुभयो ।
उहाँले मानसिक स्वास्थ्यको क्षेत्रमा गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयले समन्वात्मक ढङ्गले काम गर्न जरुरी भएकोमा जोड दिँदै पुनःस्थापना गृहलाई सुधार गर्न आवश्यक भएको बताउनुभयो । नेपाल मनोचिकित्सक सङ्घका अध्यक्ष डा राजीव शाक्यले लागुपदार्थलाई कानुनले प्रतिबन्ध लगाएपछि सेवनकर्ता लागुपदार्थबाट टाढा हुन्छ भन्ने पुरातन सोच भएको भन्दै यसमा वैज्ञानिक अवधारणा ल्याएर वैज्ञानिक उपचार पद्धति अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले लागुपदार्थ सेवनबाट मानसिक स्वास्थ्यमा पर्ने असरको उपचारका विभिन्न विधामा सहयोग पु¥याउन र पुनःस्थापन गर्न सम्मेलनले सघाउ पु¥याउने जानकारी दिँदै भारतबाट विज्ञ मनोचिकित्सक प्रोफेसरहरु सम्मेलनमा सहभागी भएको बताउनुभयो ।
मानसिक स्वास्थ्य अस्पताल ललितपुरका निर्देशक तथा मनोचिकित्सक डा अनन्त अधिकारीले मानसिक स्वास्थ्यको उपचारलाई उपचारको मूल प्रवाहमा ल्याउन सुझाव दिँदै मानसिक रोगका बिरामीलाई समाजले गर्ने विभेद अन्त्यमा जोड दिनुभयो ।
उहाँले लागुपदार्थ दुव्र्यसनलाई मानसिक स्वाथ्यको रुपमा हेर्ने र सम्मेलनमा मनोचिकित्सकको वैज्ञानिक ज्ञान र अनुभव आदानप्रदान गरिने बताउनुभयो । “८५ प्रतिशत मानसिक रोगका पीडित उपचारबाट वञ्चित हुनुहुन्छ, समाजमा चेतनाको अभाव छ र सामाजिक गलत अवधारणा विद्यमान छ”, मनोचिकित्सक डा अधिकारीले भन्नुभयो ।
उहाँले हरेक दिन नेपालमा २० जना व्यक्तिले आत्महत्या गरेको सर्वेक्षणमा देखिएको उल्लेख गर्दै १० देखि २० प्रतिशत व्यक्तिमा मानसिक रोगको सम्भावना रहने बताउनुभयो । नेपाल चिकित्सक सङ्का अध्यक्ष डा अनिल कार्कीले मानसिक स्वास्थ्यको समस्या जटिल हुँदै गएको उल्लेख गर्दै प्रविधिको विकासले डिजिटल लत मानसिक स्वास्थ्यको चुनौतीको रुपमा अघि आएको बताउनुभयो ।
नेपाल मनोचिकित्सक सङ्घको १०औँ राष्ट्रिय सम्मेलनका मूल समितिका महासचिव वरिष्ठ मनोचिकित्सक डा प्रभात सापकोटाले दुई दिने सम्मेलनमा ९३ वटा कार्यपत्र प्रस्तुत हुने जानकारी दिँदै लागुऔषध सेवनलाई रोगको रुपमा बुझाउन नसकिएको बताउनुभयो ।
मनोचिकित्सक डा तनवीर अहमत खानले लागुऔषध दुव्र्यसनको समस्या बढ्दै गएको उल्लेख गर्दै यसको सम्बन्ध मानसिक स्वास्थ्यमा कसरी परिरहेको छ भन्ने विषयमा छलफल केन्द्रित हुने बताउनुभयो । सीएमसी नेपालका सोधकर्ता हिमाल गैरेले सम्मेलनमा अनुभव प्राप्त चिकित्सकबाट गरिने प्रस्तुतीकरणले सरकार र यसमा काम गर्ने साझेदार संस्थालाई मार्गप्रसस्त गर्ने बताउनुभयो । सो अवसरमा लाइभ टाइम एचिभमेण्ट अवार्डबाट डा नवराज कोइरालालाई सम्मान गरिएको थियो ।
सम्मेलनमा देशभरबाट करिब दुई सय मनोचिकित्सक, अनुसन्धानकर्ता र भारतबाट २० जना मनोचिकित्सक सहभागी हुनुहुन्छ ।