भ्रामक सुचनाको विश्वास नगर्न कर्णाली बैंकको अपिल
Thursday, November 28th, 2024, 8:29 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ मंसिर
केहि संचार माध्यममा गलत सुचना प्रवाह भएको भन्दैं कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले त्यसको खण्डन गरेको छ । बैंकको वित्तिय कारोबारको बारेमा गलत सुचना प्रवाह भएको भन्दैं कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले भ्रमपुर्ण प्रचारवाजीमा विश्वास नगर्न आफना ग्राहकहरुलाई अपिल गरेको छ ।
कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडलका प्रमुख कार्यकारी अधिकृत निरज विक्रम शाहले बिहिबार जारी गरेको विज्ञप्तीमा नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांकलाई आधारमा बनाएर केहि संचार माध्यमले गलत ढंगले समाचार सम्प्रेषण गरिरहेको बताउनु भएको छ । कोभिड–१९ ले विश्वव्यापी रुपमा छाएको आर्थिक मन्दीको सामना गर्दै बैंकले पछिल्लो खराब कर्जा दरलाई क्रमश घटाउँदैं गएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा कर्णाली डेभलपमेण्ट बैंक लिमिटेडले आफ्नो वित्तीय सूचकांकमा क्रमश प्रगति गर्दै नयाँ सफलताहरु हासिल गर्दै आईरहेको उल्लेख गरिएको छ । यो प्रगति यस विकास बैंकका निक्षेपकर्ताहरु, ग्राहकवर्ग, लगानीकर्ताहरु र हितेषीहरुको निरन्तर विश्वास र सहयोगको परिणाम भएको प्रमुख कार्यकारी अधिकृत शाहले बताउनु भयो ।
बैंकले नेपाल राष्ट्र बैंकको स्थलगत निरिक्षण प्रतिवेदनमा उल्लेख गरिएको न्यूनतम् प्राथमिक पुंजीकोष अनुपात क्रमशः ५२.५९ प्रतिशत देखि २५.८७ प्रतिशत ऋणात्मकमा झारेको छ । जस अनुसार प्राथमिक पुंजीकोष अनुपातमा ५०.७१ प्रतिशत हासिल समेत गरिसकेको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७९-०८० देखि २०८०-८१ मा बैंकको निष्कृय कर्जा क्रमश, ५९.३९ प्रतिशतबाट ४०.८५ प्रतिशतमा घटाएको छ । जुन ३१.२२ प्रतिशतले हासिल गरेको हो । २०८१ को असोज मसान्त सम्ममा बैंकले निष्कृय कर्जालाई २९.४९ प्रतिशत समेत कायम राख्न सफल भएको छ ।
कर्जा, निक्षेप अनुपात आर्थिक वर्ष २०७९-०८० मा ६६.१३ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८०-०८१ मा ५५.०२ प्रतिशत मात्र रहेको छ । तरल सम्पति÷कुल निक्षेप अनुपात आर्थिक वर्ष २०७९-०८० मा ३३.०१ प्रतिशतबाट बढेर आर्थिक वर्ष २०८०-०८१ मा ३९.१० प्रतिशत कायम राखेको छ । जसले तरलता व्यवस्थापनमा बैंकले सक्रियताका साथै निक्षेपकर्ताहरुका रकमहरुको सुरक्षामा उच्च प्राथमिकता रहेको कुराको पुष्टि गरेको शाहलेब बताउनु भयो ।
बैंकको वित्तीय परिसूचकहरु विगतका दिन भन्दा सुधारात्मक रहेको हुँदा अगामी दिनहरुमा विशेष योजना सहित अझ उत्कृष्ट प्रतिफल दिने नवप्रवर्तन गर्दै अगाडी बढने संकल्प लिएको बताउँदै बैंकले नेपाल राष्ट्र बैंकको नीतिलाई आत्मसाथ गर्दै काम गर्ने बताइएको छ ।
बैंकमा नियमित रुपमा सहज ढंगबाट बैंकिंग कारोबार सञ्चालन भैरहेको बताउँदैं शाहले बित्तीय कारोबार सुधारउन्मुन रहेको र कुनै पनि कारोबारमा जोखिम नरहेको बताउनु भएको छ ।