महिला जनप्रतिनिधिलाई कानुन सिकाउँदै उप–महानगरपालिका
Monday, December 2nd, 2024, 7:40 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १७ मंसिर
नेपालगन्ज उप–महानगरपालिकाले महिला जनप्रतिनिधिलाई सक्षम बनाउन कानुन सिकाउँदैछ । महिला कार्यपालिका सदस्य तथा वडा सदस्यहरुलाई आवश्यक कानुन सिकाई जागरुक बनाउन दुई दिने तालिम आयोजना गरिएको छ ।
सोमबारदेखि सुरु भएको दुई दिने तालिममा नयाँ कानुनको व्यवस्था, लैंगिकता, महिला कानुनी अधिकार, संविधान तथा सिडअ अर्थात महिला विरुद्ध हुने सबै प्रकारका विभेद अन्त्य गर्ने महासन्धि १९७९ का प्रावधान र युएनओको प्रस्ताव नम्बर १३२५ र १८२० सम्बन्धि जानकारी प्रदान गरिने महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख महिला विकास अधिकृत मन्जु पाण्डेले बताउनुभयो ।
पाण्डेका अनुसार नेपालगन्ज उप–महानगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बेला महिला जनप्रतिनिधिलाई जागरुक र सक्षम बनाई क्षमता विकास गर्न तालिम आयोजना गरिएको हो । यसपटक ‘हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदैछ ।
तालिममा नेपालगन्ज उप–महानगरपालिकाका महिला कार्यपालिका सदस्य तथा सबै महिला वडा सदस्य, विभिन्न सरोकारवाला शाखामा कार्यरत कर्मचारी, केही सरोकारवाला संघसंस्थाका प्रतिनिधि गरी ५० जनाको सहभागिता रहेको छ ।
तालिममा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, नेपालगन्ज उप–महानगरपालिकाका निवर्तमान उपप्रमुख उमा थापा मगर, वरिष्ठ अधिबक्ता लोक बहादुर शाह, अधिबक्ताहरु वसन्त गौतम र सुनिता शर्मा तथा महिला विकास अधिकृत पाण्डेले सहजीकरण गरिरहनुभएको छ ।