किसानका सपना पुरा गर्दै साकार कृषि सहकारी
Tuesday, December 3rd, 2024, 8:11 am
Kalpristha
कमल खत्री
नेपालगन्ज, १८ मंसिर
कृषि नेपालीहरुको मुख्य पेसा हो । तराईको जिल्ला बाँके कृषि उत्पादनको लागि महत्वपुर्ण जिल्ला मानिन्छ । कृषि पेसा मुख्य भएपनि यसलाई व्यवसायीहरुमा अगाल्न नसक्दा नेपालले कृषिबाट अपेक्षाकृत सफलता उपलब्धि हासिल गर्न सकिरहेको छैन् । कृषि क्षेत्रमा थुप्रै सकारात्मक सम्भावना भएपनि यहाँको उर्जाशील युवा भने यसबाट टाढिदैंछन् ।
कृषिबाट टाढिदै गएका युवालाई कृषिमा जोड्ने काम गरिरहेको छ बाँके राप्तीसोनारी गाउँपालिका–६ टपरीको साकार कृषि सहकारी संस्था लिमिटेडले । नेपालमा सहकारी प्रति नकारात्मक भावना सृजना भैरहेको साकारले भने ग्रामीण समुदायमा सकारात्मक सन्देश प्रवाह गरिरहेको छ ।

……..
साकारले सहकारीमाफर्त ग्रामीण कृषि विकासमा टेवा पु¥याईरहेको छ । सहकारीले गत वर्ष बिउ बिजन उत्पादमा मात्रै करिब ४ करोड ९५ लाख रुपैयाँको कारोबार गरेको छ ।
सहकारीको मुख्य उद्देश्य नै कृषिमा आधारित भएकोले बिउ उत्पादन, खाद्यन्न खरिद, मल बिक्री गर्ने काम गरिरहेको बताउनु हुन्छ साकार कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष मनोज कुमार मौर्य । उहाँ भन्नु हुन्छ, ‘पछिल्लो समय बिउ उत्पादनलाई प्राथमिकता दिएर काम गरिरहेका छौं । बिउ उत्पादनमा हामी बाँकेको अग्रणी स्थानमा छौं । कृषि क्षेत्रमा काम गर्न चुनौति छन, त्यो भन्दा धेरै अवसर पनि छन् ।’

………
बिउ उत्पादन देखि खाद्यन्न खरिद गरिरहेको सहकारीले विशेष गरी गहुँ, मकै, धान, तोरीको बिउ उत्पादन, खरिद गर्ने, मल बिक्री गर्ने गरेको अध्यक्ष मौर्यले बताउनु भयो ।
नेपालको ५० प्रतिसत जनसंख्या अझै कृषि पेशामा निर्भर छ । राष्ट्रिय तथ्यांक कार्यालयले पछिल्लो समय सार्वजनिक गरेको तथ्यांकमा ५०.१ प्रतिसत जनता कृषि पेसामा आश्रित छन् । कृषिमा आश्रित जनसंख्या घटिरहेका बेला कृषि उत्पादन बढाउनु पनि नेपाली समाजको लागि चुनौतिको रुपमा देखिदै गएको छ । कृषि उत्पादनलाई बढाउन व्यवसायिक किसानसँगै समुदायमा आधारित कृषि प्रणाली महत्वपुर्ण मानिन्छ ।
गाउँघरमा बसेर पनि नेपालीहरुले कृषिबाट आर्थिक आम्दानी गर्न सक्छन् भन्ने कुरा स्थापित गराउने उद्देश्यले काम गरिरहेको बताउनु हुन्छ साकार कृषि सहकारी संस्थाका मुख्य व्यवस्थापक जमान सिंह वली । सहकारीका उद्देश्य प्राप्तीका लागि व्यवस्थापकिय पाटो चुस्त हुनु पर्ने उहाँ बताउनु हुन्छन ।
वलीले भन्नु भयो,‘सहकारीमा सबैको आ–आफनो भुमिका छ । सहकारीले काम गर्ने संयन्त्र छ । त्यसलाई इमानदारी पुर्वक पालना गरेर काम गर्नु पर्छ । सदस्यको मनोभावना बुझेर काम गर्दा व्यवस्थापनमा सहज हुन्छ । प्रत्येक सदस्यले सहकारीको हरेक क्रियाकलाप थाहा पाउने गरी पारदर्शी ढंगले काम गरे समस्या आउँदैन ।’

………
साकार कृषि सहकारी संस्था लिमिटेड २०६८ सालमा दर्ता भएर २०६९ सालदेखि काम गरिरहेको संस्था हो । ८ हजार ३ सय १८ सेयर सदस्य रहेको सहकारीमा १ हजार ३ सय ४१ ऋणी सदस्य रहेका छन् । सहकारीको सेयर पुँजी ३ करोड ९४ लाख छ । १७ करोड ९ लाख बचत गरेको सहकारीले २७ करोड ६१ लाख रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीले रेमिट्यान्स, मोबाइल बैंकिक जस्ता नयाँ प्रविधिको प्रयोग गर्दै काम गरिरहेको छ ।
आर्थिक वर्ष २०८०–०८१ मा सहकारीले बनाएको योजनामा ८४ प्रतिसतले उपलब्धी हासिल गरेको बताउनु हुन्छ साकार कृषि सहकारी संस्थाका प्रबन्धक भरत बहादुर खत्री ।१८ प्रतिसतले ब्यालेन्स सिट बढाएको सहकारीले करिब ९४ लाख जति खुद नाफा गरेको छ । चक्ला बन्दी कृषिलाई पनि सहकारीले जोड दिइरहेको छ ।
कृषि क्षेत्रसँगै सहकारीले कृषि प्रर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले राप्तीसोनारीको छटकपुर कृषि समुहलाई १ लाख रुपैयाँ सहयोग गरेको बताउनु हुन्छ खत्री । उहाँले भन्नु भयो,‘त्यहाँ कृषि प्रर्यटनको सम्भावना छ । माछा पालन, आधुनिक कृषि खेती, चक्लावन्दी खेती, सिँचाई जस्ता कुरामा काम भैरहेको छ ।’
साकारले ग्रामीण क्षेत्रसँगै नेपालगन्ज र कोहलपुरमा पनि सेवा विस्तार गरेर काम गरिरहेको छ । कृषकका सपना साकार गर्ने लक्ष्य लिएको सहकारीले १३औं वार्षिक साधारसभा आयोजनाको अन्तिम संघारमा छ । साधारणसभाले थप नयाँ योजना बनाउँदै कृषि मार्फत आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएको बताउनु हुन्छ प्रबन्धक खत्री ।

……………..