प्याब्सन नेपालगन्ज नगर अध्यक्षमा मान बहादुर थापा निर्वाचित
Thursday, December 5th, 2024, 6:08 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, मंसिर २० गते
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नेपालगन्ज नगर अधिवेशनले मान बहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । निर्विरोध निर्वाचित अधिवेशनबाट कार्यसमितिको उपाध्यक्षमा हेमन्तराज काफ्ले, सचिव विज्ञान शाह, सह–सचिव संजिवकुमार गुरुङ, कोषाध्यक्षमा मनोहर चन्द र सह–कोषाध्यक्षको जिम्मेवारी पवन गौतमले पाउनु भएको छ ।
यसैगरी कार्यसमितिको सदस्यहरुमा चेतलाल गिरी, सुशील कुमार बर्मा, ध्रुवराज दाहाल र नमराज शर्मा निर्वाचित हुनु भएको छ । अधिवेशनको उद्घाटन सत्रमा नगेन्द्र श्रेष्ठ र हेमन्त राज काफ्लेलाई सम्मान गर्दै पुर्व सल्लाहकार तथा पुर्व कार्यसमितिलाई कदर पत्र प्रदान गरिएको थियो ।
अधिवेशनलाई सम्बोधन गर्दै प्याब्सन केन्द्रीय उपाध्यक्ष आशिष श्रेष्ठले अभिभावक, विद्यार्थी र शिक्षकबीच प्रदेशस्तरीय अन्तरक्रियात्मक कार्यशाला गर्ने योजनामा रहेको बताउनु भयो । उहाँले डिजिटल प्याब्सन बनाउने अभियानमा लागेको बताउँदै सबै विद्यालयलाई त्यसमा जोडिन आह्वान गर्नु भयो । उपाध्यक्ष श्रेष्ठले छात्रवृत्ति ऐन परिमार्जन गराउन पहल भइरहेको बताउनु भयो ।
नगर अध्यक्ष विकास बज्राचार्यको अध्यक्षता तथा नेपालगन्ज उप–महानगरपालिका नगर प्रमुख प्रशान्त बिष्टको प्रमुख आथित्यमा भएको उद्घाटन सत्रमा हिसान केन्द्रीय उपाध्यक्ष ईश्वर पोखरेल, प्याब्सनका लुम्बिनी प्रदेश बरिष्ठ उपाध्यक्ष ऋषिकेश जिसी, नेपालगन्ज उप–महानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापा, प्याब्सन जिल्ला अध्यक्ष यम रावत, प्याब्सन जिल्ला प्रमुख सल्लाहकार राजेन्द्र आचार्य, शिक्षक महासंघ नगर अध्यक्ष सुमोद रिजाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
नगर उपाध्यक्ष नरेन्द्र श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन सचिव मान बहादुर थापाले गर्नु भएको थियो । प्याब्सन नेपालगन्जमा ५७ विद्यालय आबद्ध छन् ।