लामिछानेलाई चार दिन हिरासतमा राख्न अनुमति
Sunday, December 8th, 2024, 7:30 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
गण्डकी, २३ मंसिर
सहकारी ठगी एवम् सङ्गठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहनुुभएका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
म्याद थपका लागि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएकोमा न्यायाधीश हिमलाल बेलबासेको इजलासले चार दिन म्याद थप्ने अनुमति दिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुुभयो ।
गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा ल्याइनुभएका लामिछाने त्यस यता प्रहरी हिरासतमा हुनुहुन्छ । उहाँलाई त्यसपछि उहाँलाई अनुसन्धानकै क्रममा रुपन्देही, काठमाडौँ र चितवन समेत लगेर बयान लिइएको थियो ।
दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अनुमति
झापाका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ ।
प्रहरीको केन्द्रीय साइबर ब्यूरोको हिरासतमा रहेका प्रसाईंविरुछ आइतबार ३ दिन म्याद थप भएको ब्यूरोका एसपी दीपकराज अवस्थीले जानकारी दिनुुभयो ।
भक्तपुरस्थि आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंविरुद्ध विद्युतीय कसुरको अपराधमा ब्यूरोले अनुसन्धान गरिरहेको छ । यसैगरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
विभिन्न व्यवसायीहरुलाई धम्कयाएको कसुरमा पक्राउ परेका झापाका हरिचन्द्र फुयालसँग प्रसाईंको कनेक्सन देखिएपछि उनीविरुद्ध पनि आपराधिक लाभको कसुरमा पक्राउ पुर्जी जारी भएको छ ।
अहिले साइबर ब्यूरोले भने प्रसाईंविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडिया लगानी गरेको भनेर दिएको अभिव्यक्तिमाथि अनुसन्धान भइरहेको छ ।