हुमा शंकरको नेतृत्वमा साकारको नयाँ संचालक समिति चयन
Thursday, December 19th, 2024, 10:13 am
Kalpristha
कमल खत्री
धम्बोझी, पुस ३ गते
हुमा शंकर वलीको अध्यक्षतामा साकार कृषि सहकारी संस्था लिमिटेडको नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको छ । बुधबार राप्तीसोनारी–०५ चिलरियामा भएको १३औं वार्षिक साधारणसभाले उपाध्यक्षमा रती वली, संचालक समितिको सदस्यमा रेग बहादुर खड्का, मिरा चलाउने, सेतु कामी, खुम बहादुर खत्री, दुर्गा प्रसाद श्रेष्ठ, मानसिंह परियार, प्रेम बहादुर थारुलाई निर्विरोध चयन गरेको हो ।
यसैगरी लेखा संयोजकमा सूर्यप्रकास घर्तिमगर, लेखा सदस्यमा भुपराज भण्डारी र शान्ति थापा निर्विरोध निर्वाचित हुनु भएको छ । कर्जा उप–समितिको सदस्यमा विमला कुमारी बस्नेत र मदन सिंह थारु निर्विरोध निर्वाचित हुनु भएको निर्वाचन समिति संयोजक अधिवक्ता कर्ण बहादुर केसीले बताउनु भयो । कर्जा उप–समितिको संयोजक नवनिर्वाचित समितिले पछि मनोनित गर्नेछ ।
नवनिर्वाचित अध्यक्ष वलीले सहकारी देखिएका नकारात्मक कुरालाई हटाउँदैं जनतामा विश्वास दिलाउने गरी काम गर्ने बताउनु भयो । उहाँले भन्नु भयो,‘मैले यस सहकारीमा १० वर्ष अघि लेखा संयोजकको रुपमा काम गरेको छु । सहकारीको बारेमा धेरै कुरा थाहा छ । मेरो नेतृत्वमा साकार कृषि सहकारीलाई उत्पादनसँग जोडेर अगाडी बढने योजना बनाउने छु । कृषि क्षेत्रमा अझ कसरी राम्रो गर्न सकिन्छ भन्ने बारेमा हामी छलफल गर्नेछौं । व्यवसायिक रुपमा खेती कसरी गर्ने भन्ने योजना बनाएर काम गर्नेछौं ।’
लुम्बिनी प्रदेश सभा सदस्य एवम् लुम्बिनी प्रदेशको पुर्व मन्त्री कृष्णा केसी नमुनाको प्रमुख आथित्य र राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलको प्रमुख आथित्यमा सम्पन्न भएको थियो ।
साधारण सभाको अवसरमा उत्कृष्ट कर्मचारीको रुपमा रोशनी थारु, उत्कृष्ट सेवा केन्द्रको रुपमा फत्तेपुर सेवाकेन्द्रलाई पुरस्कृत गरिएको थियो । साधारण सभामा सहकारीको आर्थिक, सामाजिक र नेतृत्व विकासमा अतुलनीय योगदान गरेको भन्दैं मुक्तिनाथ विकास बैंक, आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड, साना किसान लघुवित्त संस्था लिमिटेडलाई पनि सम्मान गरिएको थियो ।
प्रमुख अतिथी नमुनाले सहकारी क्षेत्रमा थुप्रै प्रश्न उठिरहेका बेला साकार सहकारीले नयाँ सन्देश दिएको बताउनु भयो । उहाँले भन्नु भयो,‘साकार कृषि सहकारी अहिले सम्म कही पनि बदनाम भएको छैन् । यही ढंगले साकार कृषि सहकारीको इज्जतलाई जोगाइराख्नु होला । अरुले सिक्ने सक्ने सहकारी बन्नु होला ।’
राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले साकार बाँके जिल्लामै अब्बल रहेको बताउनु भयो ।
साकारले प्राप्त गरेको सफलतामा गाउँपालिकाले गर्व गर्ने गरेको अध्यक्ष पौडेलले भनाई राख्नु भयो । उहाँले भन्नु भयो,‘१३ वर्षको यात्रामा ८ हजार ३ सय १८ सेयर सदस्यलाई राखेर राष्ट्रको अर्थतन्त्रलाई समृद्धिको निम्ति, विकासको निम्ति सहकारीले काम गरिरहेको छ । यसका लागि संस्थालाई धन्यवाद दिन चाहन्छु । तर सहकारीमा थुप्रै चुनौति छन् । सहकारीलाई आर्थिक रुपमा पारदर्शी बनाउदैं उत्पादनसँग जोडनका लागि हामी काम गरिरहेको छौं । त्यसका लागि कृषि सहकारीहरुसँग सहकार्य गरेर आर्थिक विकासको लागि हामी काम गर्नेछौं ।’

……..

………
मनोज मौर्यको अध्यक्षतामा भएको उद्घाटन सत्रमा अतिथीको रुपमा जिल्ला कृषि सहकारी संघका अध्यक्ष लोकेन्द्र चन्द, मुक्तिनाथ विकास बैंक कोहलपुर शाखा प्रमुख विशाल महर्जन, जि एग्रो ट्रेड नेपालगन्जका लुमाकान्त लम्साल, साकार कृषि सहकारीका पुर्व अध्यक्ष लोकमणि बटाला, आसमाली पुनमगर, हेम राज खत्री लगायतको सहभागिता रहेको सहकारीका मुख्य व्यवस्थापक जमानसिंह वलीले बताउनु भयो ।