बैकुण्ठधाम सिधनियाघाट निर्माणमा डुडुवाको चासो
Friday, December 20th, 2024, 9:54 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
डुडुवा, ५ पुस
बाँकेको राप्तीनदिमा निर्माण गर्ने भनिएको बैकुण्ठधाम सिधनियाघाटबारे सरोकारवालाहरु बिच छलफल गरिएको छ । डुडुवा गाउँपालिकामा भएको छलफलमा बैकुण्ठधाम सिधनियाघाटको बारेमा भएका हालसम्मका प्रगति र योजनाको बारेमा जानकारी प्रस्तुत गरिएको थियो ।
डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीको अध्यक्षतामा भएको बैठकमा बैकुण्ठधाम सिधनिया घाट निर्माण समितिका अध्यक्ष डा. सुरेश कनोडिया, कोषाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, सदस्य डा. बद्री चापागाई, नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ सभापति रमेश गुप्ता, महासमिति सदस्य राज कुमार बर्मा, संघीय आयोजना कार्यान्वयन इकाई बाँकेका इन्जिनियर श्याम कुमार नेगी, हुलाकी सडक कार्यन्वयन इकाई बाँकेका इन्जिनियर कृष्ण पाण्डे लगायतको उपस्थिती रहेको थियो ।
छलफलका क्रममा डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले पवित्र उद्देश्य राखेर निर्माण गर्न लागिएको बैकुण्ठधाम सिधनियाघाट निर्माणमा डुडुवा गाउँपालिकाले सक्दो सहयोग गर्ने बताउनु भयो । बैकुण्ठधाम सिधनियाघाट निर्माण योजनालाई निकै चासोको साथ डुडुवाले लिएको बताउँदैं अध्यक्ष चौधरीले भन्नु भयो,‘समस्या थुप्रै छन् । हामी सबैले प्रयास गरेपछि यो निर्माण हुन सक्छ । यसका प्राविधिक पाटोको बारेमा अध्ययन गरेर अगाडी बढनु पर्छ । गाउँपालिका र डुडुवावासीले गर्ने सहयोग हामी गर्छौ ।’
बैकुण्ठधाम सिधनियाघाट परियोजनाको बारेमा डा. बद्री चापागाईले रिर्पोट प्रस्तुत गर्नु भएको थियो । बैकुण्ठधाम सिधनियाघाट नितान्त मानवीय सेवा भाव नागरिक स्तरबाट सुरु गरिएको योजना भएको उहाँले बताउनु भयो । डा. बद्रीले भन्नु भयो,‘यो अभियानमा कुनै स्वार्थ जोडिएको छैन । हामी संधै विहान मर्निङ वाक गर्न जाने साथीहरुबिच छलफल हुँदै यो योजना सुरु भएको हो । यसमा हामीले सुरुआत गरेका मात्र हौं । अब यसलाई सम्पन्न गर्नको लागि यहाँको आम नागरिक र बाँकेबासीको साथ र सहयोग चाहिन्छ ।’
निर्माण समितिका अध्यक्ष डा. कनोडियाले डुडुवाको आर्थिक र सामाजिक विकासमा समेत यो परियोजनाले निकै महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो । उहाँले भन्नु भयो,‘मानिसको जन्म भएपछि मृत्यु निश्चित छ । राप्तीनदिमा हरेक वर्ष अन्तिम दाहसंस्कार गर्दा त्यहाँ गएका थुप्रै मानिसले हैरानी खेप्नु परेको छ । यही समस्यालाई समाधान गर्न बैकुण्ठधाम सिधनियाघाटको परिकल्पना गरिएको हो ।’