भानु माविमा काँग्रेसको प्यानल बिजयी
Sunday, December 29th, 2024, 7:29 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, १४ पुस
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ६ स्थित भानु माध्यमिक विद्यालय व्यवस्थापन समिति नेपाली काँग्रेसको प्यानल बिजयी बनेको छ । विद्यालय व्यवस्थापन समितिको चार पदका लागि भएको निर्वाचनबाट नेपाली काँग्रेसको तर्फबाट युवा नेता समसुद्धुहा खाँ(बद्धाम)को नेतृत्वको प्यानल नै बिजयी बनेको हो ।
निर्र्वाचन अधिकृत एवं खजुरा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र बहादुर मल्लका अनुसार माओवादीको वर्तमान कार्यसमितिको प्यानल, नेकपा एमाले र स्वतन्त्ररुपमा उठेका प्यानललाई काँग्रेसको प्यानलले पराजित गरेको छ ।
६ सय ७४ मतदाता संख्या रहेको निर्वाचनमा ६ सय ६४ मत खसेको थियो । जसमा ३१ मत बदर भएको र बाँकी मत १० मत खसेको थिएन । नेपाली काँग्रेसको प्यानलबाट खुल्ला सदस्य पदका लागि उम्मेदवार बन्नुभएका खाँले २ सय ७९, महिला सदस्य पदमा तारावती बढहीले २ सय ८०, लक्ष्मी देवी चमारले २ सय ७१ र खुल्ला सदस्य पदमा साबिर बेहनाले २ सय ६८ मत प्राप्त गर्नुभएको छ ।
व्यवस्थापन समितिको नेतृत्वका लागि माओवादीको तर्फबाट वर्तमान कार्यसमितिको तर्फबाट वडा नम्बर ६ का वडाअध्यक्ष गरिबे शेषको श्रीमती रेश्मा बानो, एमालेका पुर्व वडाअध्यक्षको तर्फबाट साबिर जोलाह र स्वतन्त्रतबाट अब्दुल मन्नान खाँन नेतृत्वका लागि उम्मेदवार बन्नुभएको थियो ।
तीन वर्षीय कार्यकालका लागि गाउँपालिकाको शिक्षा नियमावली २०७७ को परिच्छेद ५ नियम २६ को उपनियम १ क बमोजिम समितिको सदस्य पदको निर्वाचन गरिएको थियो । निर्वाचन अधिकृत मल्लका अनुसार चार पदका लागि १६ जनाको उम्मेदवारी परेको थियो ।