सरकारको ‘पर्फर्मेन्स’ उच्चस्तरको हुनुपर्दछः कांग्रेस नेता साउद
Friday, January 10th, 2025, 9:23 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, पुस २६
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री एनपी साउदले राष्ट्रिय सहमति कायम गरेर संविधान संशोधन र पुनरावलोकनमा जानुपर्ने बताउनु भएको छ ।
नेपाल प्रेस युनियन बाँकेले शुक्रबार विहान नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता साउदले संविधानका कमीकमजोरी हटाउन र संविधानलाई अझ जनमुखी बनाउन आवश्यक संशोधनका लागि कांग्रेस राष्ट्रिय सहमति बन्नुपर्ने पक्षमा रहेको स्पष्ट पार्नुभयोे ।
उहाँले सुशासन र समृद्धि हासिल गर्न दुई ठूला दल कांग्रेस र एमाले गठबन्धन सरकारमा रहेको बताउँदै मुलुकमा भ्रष्टाचार चुनौतीकै रुपमा रहेको उल्लेख गर्नुभयो । साउदले सरकारको ’पर्फर्मेन्स’ उच्चस्तरको हुनुपर्नेमा जोड समेत दिनुभयो । अर्थतन्त्र दबाबमै रहेको भन्दै उहाँले सरकारसामु थुप्रै चुनौती रहेको बताए ।
केन्द्रीय सदस्य साउदले सरकार, गठबन्धन र पार्टीका बारेमा बुझ्न आफूहरु जिल्ला भ्रमणमा रहेको जानकारी दिनुभयो । जिल्ला भ्रमणमा रहेको टोलीमा साउदसंगै केन्द्रीय सदस्यहरु डा. डिला संग्रौला, गोविन्द बहादुर शाह, अब्दुल सत्तार र चम्पा खड्का हुनुहुन्छ ।
नेपाल प्रेस युनियन बाँकेका उपाध्यक्ष कमल खत्रीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, उपसभापति कृष्ण बहादुर कार्की, सचिव सुधांशु कोइराला, सहसचिव रेनु सिंह ठाकुर, संविधानसभा सदस्य एवम् लुम्बिनी प्रदेश सांसद बादसाह कुर्मी, क्षेत्र नम्बर १ का सभापति पोषण केसी, ३ का सभापति नक्की खाँ, जिल्ला सदस्य उमा थापा मगर लगायतको उपस्थिति थियो ।