नरैनापुरको हिउँदे गाउँसभा सम्पन्न, तीन विद्यार्थीलाई ल्यापटप प्रदान
Friday, January 10th, 2025, 9:27 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २६ पुस
बाँकेको नरैनापुर गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
गाउँपालिकाको १६ औं हिउँदे गाउँसभाको अधिवेशनको अवसरमा महेन्द्र माध्यमिक विद्यालय मटेहियाका २.९६ भन्दा बढी जिपिए ल्याएका विद्यार्थीहरूलाई सम्मान गर्दै पुरस्कार वितरण गरेको हो । शुक्रबार सकिएको गाउँसभाको समापनमा गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले शाहले विद्यार्थीद्वय ध्रुवराज गुप्ता र शिला कुमारी पाललाई ल्यापटप वितरण गर्दै सम्मान गर्नुभएको थियो ।
यसैगरी लोक सेवा तयारीका लागि पालिकाका उत्कृष्ट विद्यार्थी सपना कोइरालालाई पनि ल्यापटप प्रदान गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख सदन भण्डारीले जानकारी दिनुभयो । ‘विद्यार्थीहरूको मेहनत र समर्पणले समुदायलाई प्रेरित गर्नेछ । यस्ता प्रयासले मात्र शिक्षामा गुणस्तर वृद्धि गर्न सकिन्छ ।’ अध्यक्ष शाहले भन्नुभयो । उहाँले सामुदायिक विद्यालयहरूमा शिक्षाको स्तर सुधार गर्न कटिबद्ध रहेको बताउँदै विद्यार्थीहरूको उपलब्धिलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अध्यक्ष शाहले भन्नुभयो ‘हाम्रो पालिकामा अन्य विकास कम किन नहोस् तर शिक्षा, स्वास्थ्य र शुद्ध खानेपानीमा विशेष ध्यान दिनेछु ।’ शिक्षामा लगानी गर्न गाउँपालिकाले विशेष योजना अघि सारेको र आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष शाहले बताउनुभयो ।
पालिका अध्यक्ष शाहले १६ औं गाँउसभामा प्रस्ताव गर्नुभएको चालु आर्थिक वर्षका लागि स्वीकृत केही योजना तथा कार्यक्रम संशोधन तथा रकमान्तर गर्ने प्रस्ताव स्वीकृत गर्दै अधिवेशन सम्पन्न भएको छ । सभामा उठेका प्रश्नहरूको जवाफ दिँदै गाउँपालिका अध्यक्ष शाहले हालसम्म भएका कामहरू सन्तोषजनक तरिकाले सम्पन्न भएको बताउनुभयो ।
हामीले गरेका कामहरूमा कुनैपनि अवरोध र नकारात्मक टिका टिप्पणी नआएका कारण गाउँपालिकाले गरेका विकास निर्माणका कामहरू उत्कृष्टतापूर्वक सम्पन्न भएको अध्यक्ष शाहको भनाई थियो । उहाँले भन्नुभयो, ‘बाँकी रहेका विभिन्न क्षेत्रमा विनियोजित बजेट चाडै कार्यान्वयनमा आउनेछ ।’
हालसम्मका कामहरूको सबै क्षेत्रबाट प्रशंसा भएको भन्दै उत्कृष्ट काम गरेर देखाउन सभामा उपस्थित सभा सदस्यहरूलाई अध्यक्ष शाहले आग्रह समेत गर्नुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत एवं सभाका सदस्य सचिव नवराज वलीले चालु आर्थिक वर्षको हालसम्मको प्रगति विवरण र महालेखा परीक्षकको कार्यालयले औंल्याएको बेरुजुको विषयमा फछ्यौटको प्रक्रियालाई अघि बढाउने प्रस्ताव पेश गर्नुभएको थियो । सभाले बेरुजु रकम वसुल गरी फछ्यौट गर्न स्वीकृति प्रदान गरेको छ ।