खजुरामा सातौं मेयर रनिङ शिल्ड प्रतियोगिता सुरु
Friday, January 10th, 2025, 9:30 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, २६ पुसबाँकेको खजुरा गाउँपालिकामा सातौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८१ सुरु भएको छ । पालिकातहमा खेलकुदको ‘महाकुम्भ’ भनेर परिचित अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुक्रबारदेखि सुरु भएको हो ।
खजुरा गाउँपालिका वडा नम्बर २ के गाउँस्थित शुक्र भलिबल स्टेडियम सितापुरमा एक भब्य समारोहकाबीच उक्त प्रतियोगिताको उद्घाटन गरिएको थियो ।
शुक्र मावि केगाउँको व्यवस्थापन तथा खजुरा गाउँपालिका खेलकुद विकास समिति र शिक्षा समितिको संयुक्त आयोजनामा आगामी पुष २९ गतेसम्म हुने प्रतियोगितामा विभिन्न विधामा जम्मा ४८ वटा खेल समावेश छन् । सामाजिक विकास संयोजक कृष्णा कुमारी विक पोखरेलको सभाध्यक्षतामा भएको उद्घाटन शत्रमा पालिका अध्यक्ष डम्बर विक र उपाध्यक्ष मञ्जु मल्लले पानसमा द्वीप प्रज्वलन गरि प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।
गाउँपालिका अध्यक्ष विकले ओलम्पिक लाईट प्रज्वलित गर्नुभएको थियो भने गतवर्षकी एथलेटिक्स विजेता सरस्वती माविकी विद्यार्थी सरस्वती महाउतले उक्त ओलम्पिक लाईट लिएर मैदान परिक्रमा गर्नुभएको थियो । एथलेटिक्स चन्द्रबहादुर गुरुङ र महाउतले सपथ लिनुभएको थियो ।
प्रतियोगितामा माध्यमिक तह कक्षा ९ देखि १२, आधारभूत तह कक्षा ६ देखि ८ र प्राथमिक तहमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुले रनिङ शिल्डमा प्रतिस्प्रधा हुनेछ । माध्यमिक तर्फ एथलेटिक्स भलिबल र कबड्डी गरी जम्मा ३० इभेन्ट, आधारभूत तहमा निमावि तर्फ १२ वटा र प्राथमिक तहमा ६ वटा एथलेटिक्स इभेन्ट गरि जम्मा ४८ वटा इभेन्टमा प्रतियोगिता सञ्चालन हुनेछ ।
रनिङशिल्ड प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट खेलाडीहरुलाई जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पठाइनेछ । उक्त प्रतियोगिता अन्तर्गत भलिबल, कबड्डी र एथलेटिक्सतर्फ हुने खेलमा खेलाडीले सहभागिता जनाउने छन् ।
प्रतियोगिता भब्य र सभ्यरुपमा सफल पार्न विभिन्न समिति समेत गठन गरिएको छ । खजुरा गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समिति संयोजकसमेत रहनुभएका अध्यक्ष विकको अध्यक्षतामा प्रतियोगिता २३ सदस्यीय प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन मुल समिति गठन गरिएको छ ।
प्रतियोगिता उद्घाटनअघि पञ्चेबाजासहित गाउँपालिका अध्यक्ष विक र उपाध्यक्ष मल्ललाई रिमझिम चोकदेखि शुक्र भलिबल स्टेडियम सितापुरसम्म स्वागत गरिएको थियो । उद्घाटन शत्रमा सहभागि विद्यालयका विद्यार्थीहरुले पञ्चेबाजासहितको मार्चपास गरेका थिए । सो क्रममा जनता नमुना सन्तकुटी र शुक्र मावि सितापुरका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।