सुरु भयो आदर्शको स्पोर्टसमिट
Monday, January 20th, 2025, 8:14 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगञ्ज, ७ माघ
नेपालगञ्जको आदर्श माध्यमिक विद्यालयको सोमबारदेखि स्पोर्टसमिट सुरु भएको छ । विद्यालयका सह–प्रचार्य टंक प्रसाद गौतमका अनुसार स्पोर्टसमिटमा फुटबल, भलिबल, लङजम्प, दौड, खोखो, कुर्सी दौड, सर्टफुट, व्याडमिन्टन, लगायतका खेलहरु समावेश गरिएको छ । विद्यालयका अभिभावक विद्यार्थीहरूलाई खेलकुदमा प्रोत्साहित गर्दै शारीरिक तन्दुरुस्ती र खेल भावना विकास गर्ने उद्देश्यले स्पोर्टसमिट आयोजना गरिएको हो । स्पोर्टस्मिट माघ ९ गतेसम्म चल्नेछ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट फुटबल ट्रेनिङ सेन्टरमा जारी स्पोर्टसमिटको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाइले झण्डोत्तलन गर्दै उद्घाटन गर्नु भयो ।
प्रमुख अतिथी अध्यक्ष चौलागाईले स्पोर्टसमिटले खेल भावना जागृत गर्नुका साथै प्रतिस्पर्धात्मक माहोलमा आफूलाई प्रस्तुत गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले माध्यामिक तहबाटै सञ्चार र पत्रकारिताको पढाई गरिनु पर्ने बातावरणमा जोड दिदै उहाँले शिक्षकहरुलाई सञ्चार शिपको आवश्यकता पनि औल्याउनु भयो ।
आदर्श मावि व्यवस्थापन समितिका अध्यक्ष सन्जय थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका बाँकेका अध्यक्ष नविन गिरी, विद्यालयका प्राचार्य विरभान केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भयो । स्पोर्टसमिटले सहभागीहरूको प्रतिभा उजागरसँगै विद्यार्थीहरूको क्षमता र जोशलाई बढावा दिने विश्वास गरिएको छ । पाठ्यक्रममा आधारित नियमित अध्यापनसँगै अतिरिक्त क्रियाकलापहरुमा पनि विद्यार्थीहरुको लगाव प्रबद्र्धन गर्न विद्यालयले बार्षिकरुपमा यस्ता कार्यक्रम गर्दै आएको छ ।