विदेशबाट उद्धार गरिने नेपाली नागरिक र एयरलाइन्सका लागि एक दर्जन शर्त
Wednesday, August 26th, 2020, 4:59 pm
amit
काठमाण्डौ, १० भदौ । १ सेप्टेम्बरबाट सरकारले नियमित र चार्टर्ड दुबै प्रकारका अन्तर्राष्ट्रिय उडानको तालिका तय गरिसकेको छ भने वायुसेवा कम्पनीले समेत उडान अनुमति पाएका छन् ।
तर, कोरोना भाइरसको महामारीका बीचमा हुन लागेको उडान भने शर्तैशर्तका बीचमा हुने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको उडान तालिका उल्लेख भएअनुसार नेपाल आउने नागरिक र नेपालसम्म ल्याउने वायुसेवा कम्पनीले करिब एक दर्जन शर्तको पालना गर्नुपर्छ ।
शर्तहरु यसप्रकार छन् :
१. यात्रुले ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ रिर्पोट अनिवार्य पेश गर्नुपर्ने
२. सबै यात्रुको पीसीआर नेगेटिभ भए घर जान पाइने तर अनिवार्य १४ दिन होम क्वारेन्टिनमा बस्नु पर्ने
३. सम्बन्धित स्थानीय तह र केन्द्रमा आफ्नो स्वास्थ्य अवस्थाको जानकारी नियमित गराउनुपर्ने
४. कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को वेवसाइटमा राखिएका अनलाइन फारम अनिवार्य भरेर बोर्डिङको बेला त्यसको बारकोड वा प्रिन्ट अनिवार्य साथमा ल्याउनु पर्ने
५. पीसीआर भएको र नभएको यात्रु एउटैमा ल्याउन नपाइने कुनै वायुसेवा कम्पनीले मिसाएर ल्याएमा उक्त वायुसेवाले आफ्नो खर्चमा उक्त उडानका सबै यात्रुलाई सात दिन होटेल क्वारेन्टिनमा राख्ने व्यवस्था गर्नुपर्ने
६. नियमित उडानमा परीक्षण नगरेका यात्रु ल्याए सरकारले निर्धारण गरेको नियमानुसार वायुसेवा कम्पनी कारवाहीमा पर्ने
७. नेपाली बाहेक विदेशीको हकमा परिचयपत्र अनिवार्य पेश गर्नुपर्ने : कुटनीतिक नियोगमा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रतिनिधि, संयुक्त राष्ट्रसंघका नियोगमा कार्यरत कर्मचारी र तीनका परिवारलाई मात्र आउन अनुमति
८. भिसाको जिम्मा विभागलाई : कुटनीतिक नियोगमा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रतिनिधि, संयुक्त राष्ट्रसंघका नियोगमा कार्यरत कर्मचारी र तीनका परिवारलाई दिने भिसाको सम्बन्धमा भने अध्यागमन विभागको निर्देशनअनुसार निर्णय हुने
९. पहिलोपटक आउनेलाई नियुक्ति पत्रबाट छूट : कुनै पनि कुटनीकि वा पदीय जिम्मेवारी सम्हाल्न पहिलो पटक नेपाल आउने व्यक्तिको हकमा निजको नियुक्ति पत्र र पासपोर्टलाई आधार मानेर यात्राको अनुमित दिइने तर पीसीआर परीक्षण रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने
१०. स्वास्थ्यको मापदण्ड अनिवार्य : नेपाल आउने सबै यात्रुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी भएको स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्डको अनिवार्य पालना गर्नुपर्ने, साथै वायुसेवा र विमानस्थलका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले छुट्टै निर्देशन पालना गर्नुपर्ने
११. वायुसेवा कम्पनीले ती निर्देशनको समेत पालना गर्दै यात्रु नेपाल ल्याउन पाउने
१२. क्वारेन्टिनमा बस्नै पर्ने यात्रुले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रबाट छनोट भएका होटेलमा अग्रीम बुकिङ गर्नुपर्ने, सरकारले रोक्ने निर्देशन दिएको समयमा जुनसुकै बेला पनि चार्टर्ड तथा नियमित उडान बन्द हुन सक्ने