बारम्बार किन भइरहन्छ बाल सुधार गृहमा झडप ?
Monday, March 17th, 2025, 8:41 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ४ चैत
जयेन्दु बाल सुधार गृहमा प्रहरीस्तरबाट नभइ न्यायीकस्तरबाट नै पहल हुनुपर्ने देखिएको छ । बाँके प्रहरी प्रमुख तुलबहादुर कार्कीले आफुहरुले चाहेर पनि बाल सुधार गृहमा यस्ता घट्ना रोक्न नसक्ने बताउनुहुन्छ । ‘बाल सुधार गृहमा प्रहरीले न बल प्रयोग गर्न पाउँछ नत हतियार नै लैजान वा राख्न पाउँछ ।,’ प्रहरी प्रमुख कार्कीले भन्नुभयो, ‘कानून तहः हामीले त्यहाँ कुनैप्रकारको विग्रिएको अवस्था नियन्त्रणमा लिएर सामान्य बनाउनेसम्म मात्रै गर्न सक्छौं ।,’
‘सुधार गृहमा राखिएका बालबिज्याईंकर्ताहरूलाई सुधार हुने खालका गतिविधि गर्नुपर्छ ।,’ बाँके प्रहरी प्रमुख कार्कीले भन्नुभयो, ‘बालबिज्याईंकर्ताहरूका लागि शिक्षा, सीपमूलक कार्य तथा उत्पादन, खेलकुदलगायतका क्रियाकलाप गर्नुपर्छ । जसले गर्दा उनीहरूमा सकारात्मक सोच विकास हुन्छ, तर यी कुराहरु हुन सकेको छैन ।’
समस्या हुँदा प्रहरी गएर त्यहाँको माहोल शान्त हुने अथवा बनाउने गरेको भएपनि फर्किएपछि पुनः पहिलेदेखि रहने समस्याले फेरि विवाद सृजना गर्ने गरेको एसपी कार्कीको भनाई छ । सुधार गृहमा सिमित मानिस बस्न पाउने, सिभिलमा बिना हतियार बस्नुपर्ने हुँदा बालबालिकामा जे गरेपनि कसैले केही गर्न नसक्ने सोंच हाबी भएकाले बारम्बार यस्ता घट्दै आएको प्रमुख कार्कीले बताउनुभयो ।
सुधार गृह व्यवस्थापनका लागि कानूनमा सुधार, दरबन्दी थप, आवश्यक संरचना निर्माण तथा सुधार जस्ता कुराहरु अब नयाँ सोचका साथ अधिकार मात्रै खोज्ने भन्दा पनि अधिकार र कर्तब्य सँगसँगै लैजानुपर्ने प्रहरी प्रमुख कार्कीको भनाई छ । उहाँले बारम्बार आफुहरुबाट आवश्यक सुझावहरु सम्बन्धित ठाउँमा पु¥याउने गरेको प्रहरीले जनाएको छ ।
जिल्लामा सञ्चालित बाल सुधार गृहको व्यवस्थापनमा चुनौती देखिएको छ । १८ वर्षभन्दा माथिका बालबिज्याइँकर्ता (बालबन्दी) हरूलाई कारागार चलान नगरि बालसुधार गृहमै राख्दा व्यवस्थापनमा चुनौती देखिएको हो । बाँकेमा जयेन्तु बाल सुधार गृह र तीन हजार क्षमताको नौबस्ता बाल सुधार गृह सञ्चालनमा छन् । जयेन्दु सुधार गृहमा बेलाबेला झडप हुँदै आएको छ । झडपमा मानवीयसँगै ठूलो धनजनको समेत क्षति भइरहेको छ । विवादका मुख्य कारण बाल सुधार गृहका बालबिज्याइँकर्ताहरू दुई समूहमा विभाजित हुनु हो । उनीहरू समूहमा विभाजित हुँदा एक समूहले अर्काे समूहलाई दबाउन खोज्दा झडपको अवस्था सिर्जना हुँदै आएको बताइन्छ ।
१८ वर्षभन्दा माथिका बालबिज्याइँकर्तालाई पनि बाल सुधार गृहमा राख्दा १८ वर्षभन्दा कम उमेर भएकाबाट हुने कानुनविपरीतको कार्यलाई अपराध नभनी बिज्याइँ भन्ने गरिन्छ र त्यस्तो बिज्याइँ गर्ने व्यक्तिलाई बाल बिज्याइँकर्ता भनिन्छ । त्यस्ता बालबिज्याइँकर्तालाई थुनामा राखिने स्थानलाई बाल सुधार गृह भनिन्छ । तर बाल सुधार गृहमा १८ वर्ष उमेर कटिसकेकालाई पनि राख्ने प्रचलनले द्वन्द्वको स्थिति सिर्जना हुने गरेको प्रहरी अधिकारीहरु बताउँछन् । यसका साथै सुधार गृहमा लागू औषधको प्रयोग हुने गरेको पनि देखिन्छ । खाएका र लैजाँदा परीक्षण गर्ने प्रविधिको अभाव तथा कानूनी नियमका कारण यस्ता घट्नाका कारण पत्ता लगाउने सक्ने भएपनि हुन नसक्नु नै समस्या रहेको जानकारहरुको भनाई छ ।