मदिराको नसामा लठ्ठिएका वन अधिकृतले कुटे चालकलाई
Friday, May 2nd, 2025, 8:58 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ वैशाख
लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयका आठौं तहका एक अधिकृतले मदिरा सेवन गरी मन्त्रालय अन्तर्गतकै सवारी चालकलाई अभद्र व्यवहार र हातपात गरेपछि कारबाहीको माग गरिएको छ ।
मन्त्रालयले भालुवाङको होटेल पौवामा वैशाख १६ गते साँझ आयोजना गरेको खानपान कार्यक्रममा अधिकृत दुर्गाप्रसाद खत्रीले वन कार्यालय बाँकेका हलुका सवारी चालक कर्णबहादुर गुरुङमाथि विना कारण दुव्र्यवहार र हातपात गर्नुभएको हो ।
अधिकृत खत्रीले अत्यधिक ‘मदिरा सेवन गरी आफूलाई सरुवा गरिदिन्छु’ भन्दै विवाद झिकेर अपशब्द बोल्दै हातपातमा उत्रिएको चालक गुरुङले बताउनुभयो । आफूमाथि हातपात गर्ने मुख्य व्यक्ति खत्री भएपनि मन्त्रालयकै स्टोर शाखाका प्रमुख अधिकृत (छैटौं) तारा शर्माले खत्रीलाई साथ दिएको गुरुङले बताउनुभयो ।

……….
‘दुर्गा सरले सरुवा गरिदिन्छु भन्नुभयो, मैले मलाई सरुवा चाहिएको छैन, मेरो सरुवा हुँदा करारमा जागिर गरेका अर्को कसैको जागिर जान्छ भनेको हुँ, यति भन्ने वित्तिकै उहाँले एक्कासी अश्लिल गाली गलौज गर्दै हातपातमा उत्रिनुभयो’, गुरुङले भन्नुभयो, ‘थुप्रै मान्छेका अगाडि बेइज्जत गर्नुभयो, मेरो आँखा र अनुहारमा अलिकति चोट पनि लाग्यो, साथीहरूले जोगाउनुभयो ।’
हातपात भएपछि गुरुङसहित मन्त्रालय अन्तर्गका कार्यालयका २० जना चालक र नेपाल निजामति कर्मचारी युनियनले हातपातमा संलग्न अधिकृत खत्री र शर्मामाथि कारबाहीको माग गर्दै वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवारलाई ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्रको बोधार्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पनि दिइएको नेपाल निजामति कर्मचारी युनियनका महासचिव जनकबहादुर रावलले बताउनुभयो । वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले दुवै पक्षलाई आइतबार मन्त्रालयमा बोलाएर छलफल गराई पीडितको चित्त बुझ्नेगरी गल्ती गर्नेले माफी माग्नुपर्ने अन्यथा कारबाही प्रकृया अघि बढाउने बताउनुभयो ।
‘जिम्मेवार पदमा रहेका माथिल्लो तहका कर्मचारीले मदिरामा मातेर तल्लो तहका कर्मचारीलाई दुव्र्यवहार र हातपात गर्नु गलत हो, आइतबार दुवै पक्षलाई राखेर छलफल गराई सोही वमोजिम कदम चाल्छु’, मन्त्री कलवारले भन्नुभयो । हातपातमा संलग्न भनिएका अधिकृत खत्रीसँग पटकपटक मोबाइलमा सम्पर्क गर्दा उहाँसँग सम्पर्क हुन सकेन ।