माधव नेपालविरुद्ध १८ करोड ५८ लाख बिगो दाबी, ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
Thursday, June 5th, 2025, 6:07 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाण्डौँ, २२ जेठ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ । अन्यको हकमा भने विगो रकम फरक फरक छ । हदबन्दीभन्दा बढी जग्गा खरिद बिक्री गर्न दिई सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप उनीहरुमाथि लागेको छ ।
भ्रष्टाचार मुद्दा दायर भएपछि नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ । नेपालको इतिहासमा पहिलोपटक पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको हो । यस्तै, मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचारविरुद्धको मुद्दा चलेको पहिलो पटक हो ।
यस्तो छ नेपालमाथिको आरोप
पतञ्जली योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो । तत्कालीन सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गा पछि मन्त्रिपरिषदकै निर्णयबाट बिक्री गरेको भेटिएपछि अख्तियारले छानबिन थालेको थियो ।
भूमिसम्बन्धी ऐन, २०२१ मा कुनै उत्पादनमूलक उद्योग वा व्यवसाय गर्न सरकारले हदबन्दीमा छुट हुने गरी जग्गा राख्ने सुविधाको व्यवस्था छ । तर त्यसरी सुविधामा खरिद गरेको जग्गा बिक्री गर्न पाइदैन । हदबन्दी छुटमा पाएको जग्गा सरकारले नै बिक्री गर्न अनुमती दिएपछि प्रश्न उठेको थियो । भारतको पतञ्जलि योगपीठले काभ्रेमा आयुर्वेद शिक्षालयदेखि अस्पताल र जडीबुटी फार्म सञ्चालन गर्न २०६४ सालमा कम्पनी दर्ता गरेको थियो ।
हदबन्दीभित्रको जग्गाले नपुग्ने भएपछि उसले सरकारलाई हदबन्दी छुटमा जग्गा राख्ने अनुमति दिन आग्रह गरेको थियो । १८ माघ, २०६६ मा माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषदले पतञ्जलीलाई काभ्रेमा ८१५ रोपनी जग्गा किन्न छुट दिएको थियो । त्यतिबेला पतञ्जलिले करिब ६ सय रोपनी जग्गा किनेको थियो ।
कतिपय जग्गा त्यसभन्दा अघि नै खरिद भएको थियो । जग्गा किनेको केही महिनामा नै उसले जग्गा बेच्ने निर्णय गर्यो । कानूतः हदबन्दी छुटको जग्गा बेच्न मिल्दैन, कम्पनी विघटन हुँदा सहुलियतको जग्गा स्वतः सरकारीकरण हुने कानूनी व्यवस्था छ । तर २०६६ सालमै तत्कालिन सरकारले जग्गा बिक्री गर्न अनुमति दिने निर्णय गरेको थियो ।
करियार समाप्त पार्न ओलीको निर्देशनमा मुद्दा लगाइयोः नेपाल
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालले पतञ्जली जग्गा प्रकरणमा आफूले कुनै निर्णय नगरेको बताउनुभएको छ । पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि अध्यक्ष नेपालले रौटहटमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पतञ्जली जग्गा प्रकरणमा आफूले कुनै निर्णय पनि नगरेको र आदेश पनि नदिएको बताउनुभएको हो ।
’म कसैमाथि पनि आरोप लगाउन चाहन्न । आरोप लगाउनु उचित हुँदैन ।,’ उहाँले भन्नुभयो, ’तर म आफै पनि कुनै पनि नियतबाट लाभ उठाएर, भ्रष्टाचार गरेर, कुनैपनि आदेश दिने काम मबाट भएको छैन । त्यस्तो कुराको म विरोधमा छु।’ उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजनीतिक करियर समाप्त पार्ने कोशिस गरेको आरोप लउनुभएको छ ।
‘केपी ओलीकै निर्देशनमा मुद्दा दर्ता भएको मान्नुहुन्छ ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष नेपालले भन्नुभयो, ‘सिधा कुरा हो, उहाँ मेरोविरुद्धमा सुरुदेखि लाग्नु भएको पनि हो । मेरो राजनीतिक करियरलाई समाप्त पार्ने उहाँको नियतै हो । पहिले पनि यस्तो किसिमको कोशिस पटक–पटक गर्नुभएको हो । उहाँ बदलाको भावनाबाट चल्ने मान्छे हो ।,’ अबको प्रक्रिया जे जसरी अगाडि बढ्छ त्यसको सामना गर्ने उहाँले बताउनुभयो ।