नेपालगन्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ हुँदै
Thursday, June 5th, 2025, 6:10 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २२ जेठ
पर्यटन प्रवद्र्धनका लागि नेपालगन्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ को आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालगन्ज उप–महानगरपालिकाको आयोजना तथा पर्यटन विकास परिषद् लुम्बिनी प्रदेश, नेपालगन्ज उद्योगा वाणिज्य सङ्घ, होटेल एसोसियसन र होटेल व्यवसायीसँग बाँकेको सहकार्यमा नाट्टा बाँकेले तेस्रो संस्करणका रुपमा उक्त मार्ट आयोजना गर्न लागेको हो ।
यही जेठ २४, २५ र २६ गते आयोजना हुन लागेको मार्टमा भारतको पर्यटकीय शहर बनारस, अयोध्या, लखनउ र गोरखपुरबाट ४० जना बढी टुर अपरेटर सहभागी हुने वेष्टर्न ट्राभल मार्ट मूल समितिका संयोजक श्रीराम सिग्देलले जानकारी दिनुभयो । उहाँले त्यसका लागि ‘टेक्नीकल सेसन’ समेत सञ्चालन हुने उल्लेख गर्दै सहभागी पर्यटकलाई बाँके र बर्दियाका राष्टिय निकुञ्जको भ्रमण गराइने बताउनुभयो ।
संयोजक सिग्देलले यसबाट प्राकृतिक सौन्दर्य र वन्यजन्तुको विविधता उजागर हुने तथा कर्णाली नदीमा र्याफटिङको अनुभव आदान प्रदान हुनुका साथै त्यसले साहसिक पर्यटनलाई प्रवद्र्धन गर्ने बताउनुभयो । मार्टमा आएका पर्यटकलाई नेपालगन्जमा रहेका क्यासिनो र प्रमुख होटलको समेत अवलोकन गराइने आयोजकले जनाएका छन् ।
“यसले नेपालगन्ज र समग्र लुम्बिनी प्रदेशको पर्यटन विकासमा महत्वपूर्ण योगदान दिन्छ भन्ने विश्वास लागेको छ”, उहाँले भन्नुभयो । नेपालगन्जलाई कर्णाली प्रदेशको पर्यटन प्रवेशद्धारका रुपमा स्थापित गर्दै बाँकेलाई पर्यटकीय गन्तव्य बनाउने लक्ष्य लिएको उल्लेख गर्दै सिग्देलले मार्टमा परम्परागत खानाको प्रर्दशनी हुनुका साथै नेपालगन्जको त्रिभुवनचोकमा पहिलोपटक ‘स्ट्रिट फूड लेन’ सञ्चालनमा आउन लागेको जानकारी दिनुभयो ।
संयोजक सिग्देलले त्यसका लागि सुरुमा २० व्यावसायिक स्टल हुने जनाउँदै नेपालगन्जमा पाइने सबै स्वाद स्ट्रिट फूड लेनमा हुने बताउनुभयो । यसअघि पनि नाट्टा बाँकेले वेष्टर्न ट्राभल मार्टको आयोजना गरेको थियो । तीन दिन हुने मार्टमा रु ३५ लाख खर्च हुने अनुमान गरिएको छ ।
डब्लुटिएमले नेपालगन्ज र समग्र लुम्बिनी प्रदेशको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ । पत्रकार सम्मेलनमा नाट्टाका पूर्व केन्द्रिय अध्यक्ष अच्युत गुरागाईं, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव भिम बहादुर रानाभाट, नेपालगन्ज उपमहानगरपालिकाकी निवर्तमान उपप्रमुख उमा थापा मगर लगायतको उपस्थिति थियो ।